२०८३ श्रावण १२ मंगलवार
नेपाली समय

विद्यार्थीको चौतर्फी विकासका लागि सहपाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै रिलायन्स

१ दिन अगाडि

विद्यार्थीको चौतर्फी विकासका लागि सहपाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै रिलायन्स एजुकेसन नेटवर्क 

Advertisement 1

काठमाडौं, श्रावण १०, २०८३। रिलायन्स एजुकेसन नेटवर्क (REN) अन्तर्गतका विद्यालयहरूमा सञ्चालन हुने सहपाठ्य (CCA) तथा अतिरिक्त क्रियाकलाप (ECA) लाई समयानुकूल, प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले “Paper Presentation & Workshop on ECA/CCA System” सम्पन्न भएको छ। कार्यक्रममा नेटवर्कअन्तर्गतका विद्यालयका प्रिन्सिपल, शैक्षिक नेतृत्वकर्ता तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यशालामा विभिन्न विद्यालयले आफ्ना उत्कृष्ट अभ्यास, नवप्रयोग, चुनौती तथा समाधानका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। सहभागीहरूबीच अनुभव आदान–प्रदान, अन्तरक्रिया र समूह छलफलमार्फत सम्पूर्ण नेटवर्कमा समान गुणस्तरको ईसीए/सीसीए प्रणाली विकास गर्ने विषयमा गहन मन्थन गरिएको थियो। कार्यक्रममा विद्यार्थीको नेतृत्व क्षमता, सिर्जनशीलता, सञ्चार कला, अनुशासन, सहकार्य, सामाजिक उत्तरदायित्व तथा जीवनोपयोगी सीप विकासमा ईसीए/सीसीएको भूमिकालाई विशेष रूपमा जोड दिइएको थियो।

Advertisement 3

कार्यक्रमलाई सम्बोधन गर्दै रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रविन्द्रजंग थापाले विद्यालयको उत्कृष्टता केवल परीक्षाको नतिजाबाट मात्र मापन गर्न नसकिने उल्लेख गर्दै विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि ईसीए र सीसीए अपरिहार्य रहेको बताए। उनले भने, “हामीले भविष्यका सक्षम, जिम्मेवार र विश्व प्रतिस्पर्धामा सफल नागरिक तयार पार्न कक्षाकोठाभन्दा बाहिरका सिकाइलाई अझ व्यवस्थित, अनुसन्धानमा आधारित र प्रभावकारी बनाउनुपर्छ। रिलायन्स एजुकेसन नेटवर्कले शैक्षिक उत्कृष्टतासँगै चरित्र निर्माण, नेतृत्व विकास र जीवनोपयोगी सीपलाई समान प्राथमिकतामा राख्दै अघि बढिरहेको छ।”

त्यसैगरी रिलायन्स एजुकेसन नेटवर्कका ईसीए/सीसीए संयोजक गोविन्द ढकालले ईसीए र सीसीएलाई विद्यालय शिक्षाको अभिन्न अंगका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए। उनले भने, “विद्यार्थीको लुकेको प्रतिभा पहिचान गर्ने, आत्मविश्वास अभिवृद्धि गर्ने र सिकाइलाई व्यवहारसँग जोड्ने सबैभन्दा प्रभावकारी माध्यम ईसीए/सीसीए हो। आजको कार्यपत्र प्रस्तुति र कार्यशालाले विद्यालयहरूबीच उत्कृष्ट अभ्यासको आदान–प्रदान मात्र होइन, सम्पूर्ण नेटवर्कका लागि साझा मापदण्ड र दीर्घकालीन कार्यदिशा निर्माणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं।”

कार्यक्रमको अन्त्यमा सहभागीहरूले यस्ता व्यावसायिक विकासमूलक कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दै शिक्षकहरूको क्षमता अभिवृद्धि, विद्यालयहरूबीच सहकार्यको संस्कृति विस्तार तथा विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राखेर नवीन शैक्षिक अभ्यासलाई संस्थागत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। रिलायन्स एजुकेसन नेटवर्कले आगामी दिनमा पनि अनुसन्धान, नवप्रयोग र सहकार्यमा आधारित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार