म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को अध्यक्षमा रविन दाहाल सर्वसम्मत निर्वाचित

Advertisement 1
काठमाडौं, श्रावण १० — म्युचुअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को अधिवेशनले इलिक्सिर एकेडेमीका प्रिन्सिपल रविन दाहाललाई आगामी दुई वर्षका लागि सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ। अधिवेशन शनिबार काठमाडौंको बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा सम्पन्न भएको हो।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा राजेश खरेल (Whiz Kids International School), सचिवमा जे. एन. पाण्डे (प्रस्फुटन इन्टरनेसनल एकेडेमी), सहसचिवमा मदनकुमार पोखरेल (नेपाल मेगा स्कुल), कोषाध्यक्षमा राजेन्द्र थपलिया (लाइसियम मोडेल स्कुल), सदस्यमा जेसिका चेम्जोङ (न्यु अरुणोदय सेकेन्डरी स्कुल), छत्रमणि राई (गोल्डेन पिक हाई स्कुल) तथा अतिरिक्त क्रियाकलाप संयोजकमा रेगन सिंह (शाम्भवी स्कुल) सर्वसम्मत चयन भएका छन्।
Advertisement 2

अधिवेशन उद्घाटन तथा बन्द सत्र गरी दुई चरणमा सञ्चालन गरिएको थियो। उद्घाटन सत्रमा माफसँग आबद्ध विद्यालयका प्रिन्सिपल तथा निर्देशकहरूले विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा संस्थालाई थप सशक्त, प्रभावकारी र सदस्य विद्यालयहरूको गुणस्तर अभिवृद्धिमा केन्द्रित बनाउने विषयमा विस्तृत छलफल गरेका थिए। कार्यक्रममा निवर्तमान अध्यक्ष इशु गुरुङले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य तथा माफ परिवारप्रति हार्दिक आभार व्यक्त गरे।
Advertisement 3

बन्द सत्रमा सचिव राजेश खरेलले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष राजेन्द्र थपलियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसपछि वरिष्ठ सल्लाहकार राजु राईको संयोजकत्वमा गठित निर्वाचन मण्डलले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो।

नवनिर्वाचित अध्यक्ष रविन दाहालले आफूलाई दिएको विश्वासप्रति सम्पूर्ण माफ सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी कार्यकालमा इमानदारी, पारदर्शिता र समन्वयका साथ संस्थाको गरिमा अझ उचाइमा पुर्याउने प्रतिबद्धता जनाए। निर्वाचन मण्डलका संयोजक राजु राईले पनि नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थागत एकता र सक्रियताले माफलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्