२०८३ श्रावण १२ मंगलवार
नेपाली समय

९ टोलीबीच कडा प्रतिस्पर्धा, यान्सुबले जित्यो प्रथम कागेश्वरी मनोहरा नगरस्तरीय तेक्वान्दोको उपाधि

४ हप्ता अगाडि

यान्सुब तेक्वान्दो डोजाङ टिम च्याम्पियन बन्दै सम्पन्न भयो प्रथम कागेश्वरी मनोहरा नगरस्तरीय तेक्वान्दो प्रतियोगिता–२०८३

२८३ खेलाडी, ९ टिमको सहभागिता; उत्कृष्ट खेलाडी सम्मानित, विजेतालाई नगद पुरस्कार वितरण

Advertisement 1

काठमाडौं, असार १४ – कागेश्वरी मनोहरा नगरपालिकाको सहयोग तथा कागेश्वरी मनोहरा नगर तेक्वान्दो विकास समितिको आयोजनामा सम्पन्न प्रथम कागेश्वरी मनोहरा नगरस्तरीय तेक्वान्दो प्रतियोगिता–२०८३ उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। वडा नं. ५, थलीस्थित खेलमैदानमा आयोजित प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालय तथा डोजाङबाट ९ वटा टिमका २८३ जना खेलाडी सहभागी भएका थिए।

कडा प्रतिस्पर्धाबीच यान्सुब तेक्वान्दो डोजाङले १५ स्वर्ण, ८ रजत र १० कांस्य पदक जित्दै प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भयो। चन्द्रसूर्य तेक्वान्दो डोजाङले १४ स्वर्ण, १२ रजत र १३ कांस्य पदकसहित दोस्रो स्थान हासिल गर्दा थली तेक्वान्दो डोजाङले ७ स्वर्ण, ४ रजत र १४ कांस्य पदकसहित तेस्रो स्थानमा चित्त बुझायो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन टोलीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

Advertisement 3

व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट खेलाडीहरू सम्मानित भए। ग्योरोगी पुरुषतर्फ मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङमहिलातर्फ थली तेक्वान्दो डोजाङकी पेमा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए। त्यसैगरी पुम्से पुरुषतर्फ प्रिन्सकुमार राम तथा महिलातर्फ रेन्जिङ चौलागाईं उत्कृष्ट घोषित भए। दुवै चन्द्रसूर्य तेक्वान्दो डोजाङका खेलाडी हुन्।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, उपमेयर शान्ता थापा, राष्ट्रिय खेलकुद परिषद्की पूर्व कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का, आयोजक समितिका अध्यक्ष राजकुमार श्रेष्ठलगायत विशिष्ट अतिथिहरूले नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे।

सोही अवसरमा छैटौं बागमती प्रदेशस्तरीय जुनियर मेयर कप आमन्त्रण तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल कागेश्वरी मनोहरा नगरपालिकाका खेलाडीहरूलाई विशेष सम्मान गरिएको थियो। स्वर्ण पदक विजेता गिरिश श्रेष्ठ, रजत पदक विजेता इशाक तामाङ, आयुश साउद र सीमा जर्घामगर तथा कांस्य पदक विजेता नेरिया श्रेष्ठलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। आयोजकले नगरको गौरव बढाउने खेलाडीहरूको उपलब्धिको उच्च मूल्यांकन गर्दै आगामी दिनमा अझ प्रभावकारी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर उपेन्द्र कार्कीले खेलकुदले अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने उल्लेख गर्दै नगरपालिकाले खेल क्षेत्रको विकासलाई निरन्तर प्राथमिकतामा राख्ने बताए। उपमेयर शान्ता थापाले युवालाई सकारात्मक बाटोमा डोर्‍याउन खेलकुद प्रभावकारी माध्यम भएको बताउँदै यस्ता प्रतियोगिताले नगरभित्रका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन्।

आयोजक समितिका अध्यक्ष राजकुमार श्रेष्ठले पहिलो संस्करणमै २८३ खेलाडीको उल्लेखनीय सहभागिता हुनु नगरमा तेक्वान्दो खेलप्रतिको बढ्दो आकर्षणको प्रमाण भएको बताए। उनले आगामी वर्ष प्रतियोगितालाई अझ भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकाय, प्रशिक्षक, निर्णायक, विद्यालय, डोजाङ, अभिभावक तथा स्वयंसेवकप्रति आभार व्यक्त गरे।

समितिका सचिव विश्वास अर्यालले प्रतियोगिताले नगरभित्र स्वस्थ प्रतिस्पर्धा, अनुशासन र खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान र उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उत्साहपूर्ण सहभागिता, उत्कृष्ट व्यवस्थापन र प्रतिस्पर्धात्मक खेलका बीच सम्पन्न प्रथम कागेश्वरी मनोहरा नगरस्तरीय तेक्वान्दो प्रतियोगिता–२०८३ ले कागेश्वरी मनोहरा नगरपालिकामा तेक्वान्दो खेलको विकासका लागि नयाँ आधार तयार गरेको आयोजकको निष्कर्ष रहेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार