रिभेरा इन्टरनेसनल एकेडेमीमा २१३औँ भानुजयन्ती विशेष अन्तरविद्यालय कविता कृतिवाचन प्रतियोगिता सम्पन्न

Advertisement 1
काठमाडौं । २१३औँ भानुजयन्तीको अवसरमा भानु प्रतिष्ठान, काठमाडौं र रिभेरा इन्टरनेसनल एकेडेमी, चाबहिलको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यका कवितामा आधारित अन्तरविद्यालय कविता कृतिवाचन प्रतियोगिता सम्पन्न भएको छ।
रिभेरा इन्टरनेसनल एकेडेमीको सभाहलमा आयोजित प्रतियोगितामा काठमाडौं जिल्लाका २७ विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता भानु प्रतिष्ठानका अध्यक्ष डी.पी. अर्यालले गर्नुभएको थियो भने भानु प्रतिष्ठानका संरक्षक तथा पूर्वअध्यक्ष प्रा. डा. व्रतराज आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। प्रतियोगिताको निर्णायकमा वरिष्ठ साहित्यकार प्रा. डा. देवी नेपाल र डा. मधुसुदन लामिछाने रहनुभएको थियो। कार्यक्रमको सुरुवातमा रिभेरा इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल प्रज्वल कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
Advertisement 2
प्रतियोगितामा पिस पोइन्ट सेकेन्डरी स्कुलकी छात्रा दीपिका राई प्रथम, विश्वज्ञान पाठशालाकी स्मृतिका खड्का द्वितीय तथा कान्तभैरव गुरुकुल विद्यालयका अभिनव आचार्य तृतीय हुन सफल भए। त्यसैगरी बेबिलोन नेशनल स्कुलकी आशिका रावल चौथो तथा जगत मन्दिर स्कुलकी विद्या कोइराला पाँचौँ स्थान हासिल गर्न सफल भइन्।
विजयी विद्यार्थी तथा विद्यालयलाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, आयोजक विद्यालयका अध्यक्ष तथा प्रिन्सिपललगायतले संयुक्त रूपमा ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए। साथै भानु प्रतिष्ठानका उपाध्यक्ष डा. रमेश सुभेच्छु र महासचिव पुरु लम्सालद्वारा लिखित पुस्तकहरू पुरस्कारस्वरूप वितरण गरिएको थियो।
Advertisement 3
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. व्रतराज आचार्यले आदिकवि भानुभक्त आचार्य नेपाली भाषाका महान् स्रष्टा मात्र नभई राष्ट्रिय एकताका प्रतीक भएको उल्लेख गर्दै नयाँ पुस्तामा भाषा, साहित्य र संस्कृतिप्रतिको सम्मान बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष डी.पी. अर्यालले भानुभक्त आचार्यको भाषिक तथा साहित्यिक योगदानको चर्चा गर्दै नेपाली भाषा र साहित्यको संरक्षण र प्रवर्द्धनका लागि सबैले साझा प्रयास गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा साहित्यकार प्रा. डा. देवी नेपाल, डा. मधुसुदन लामिछाने, भारतको मणिपुरका कवि दीपक पन्थ तथा युवा कवि सदाशय गौतमलगायतले कविता वाचन गर्नुभएको थियो। कार्यक्रममा भानु प्रतिष्ठानका उपाध्यक्ष डा. रमेश सुभेच्छु, महासचिव पुरु लम्साल, रिभेरा इन्टरनेसनल एकेडेमीका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भट्टराई, जगत मन्दिर सेकेन्डरी स्कुलका प्रिन्सिपल राजन आचार्य, लाइसियम मोडल स्कुलका प्रिन्सिपल राजेन्द्र थपलियालगायत विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिताले विद्यार्थीहरूमा नेपाली भाषा र साहित्यप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानलाई नयाँ पुस्तामाझ अझ प्रभावकारी रूपमा पुर्याएको आयोजकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्