२०८३ श्रावण १२ मंगलवार
नेपाली समय

२१३औँ भानुजयन्तीमा रविरामा अन्तरविद्यालय कविता कृतिवाचन प्रतियोगिता सम्पन्न

१ दिन अगाडि

२१३औँ भानुजयन्तीमा रविरा इन्टरनेसनल एकेडेमीमा अन्तरविद्यालय कविता कृतिवाचन प्रतियोगिता सम्पन्न

Advertisement 1

काठमाडौं । २१३औँ भानुजयन्तीका अवसरमा भानु प्रतिष्ठान, काठमाडौंरविरा इन्टरनेसनल एकेडेमी, चाबहिलको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यका कवितामा आधारित अन्तरविद्यालय कविता कृतिवाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

रविरा इन्टरनेसनल एकेडेमीको सभाहलमा आयोजित प्रतियोगितामा काठमाडौं जिल्लाका २७ विद्यालयको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता भानु प्रतिष्ठानका अध्यक्ष डी.पी. अर्यालले गर्नुभएको थियो भने भानु प्रतिष्ठानका संरक्षक तथा पूर्वअध्यक्ष प्रा. डा. व्रतराज आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। प्रतियोगिताको निर्णायकको भूमिकामा प्रा. डा. देवी नेपालडा. मधुसुदन लामिछाने रहनुभएको थियो। आयोजक विद्यालयका प्रिन्सिपल प्रज्वल कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतियोगितामा पिस पोइन्ट सेकेन्डरी स्कुलकी छात्रा दीपिका राई प्रथम, विश्वज्ञान पाठशालाकी स्मृतिका खड्का द्वितीय तथा कान्तभैरव गुरुकुल विद्यालयका अभिनव आचार्य तृतीय हुन सफल भए। त्यसैगरी बेबिलोन नेशनल स्कुलकी आशिका रावल चौथो तथा जगत मन्दिर स्कुलकी विद्या कोइराला पाँचौँ स्थान हासिल गर्न सफल भइन्।

विजयी विद्यार्थी तथा विद्यालयलाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, आयोजक विद्यालयका अध्यक्ष तथा प्रिन्सिपललगायतले संयुक्त रूपमा ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए। साथै भानु प्रतिष्ठानका उपाध्यक्ष डा. रमेश सुभेच्छु र महासचिव पुरु लम्सालद्वारा लिखित पुस्तकहरू पुरस्कारस्वरूप वितरण गरिएको थियो।

Advertisement 3

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. व्रतराज आचार्यले आदिकवि भानुभक्त आचार्य केवल महान् कवि मात्र नभई नेपाली भाषा, साहित्य र राष्ट्रिय एकताका प्रतीक भएको उल्लेख गर्नुभयो। अध्यक्ष डी.पी. अर्यालले भानुभक्तको भाषिक योगदानको चर्चा गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तामा नेपाली भाषा र साहित्यप्रतिको सम्मान तथा रुचि बढाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रा. डा. देवी नेपाल, डा. मधुसुदन लामिछाने, भारतको मणिपुरका कवि दीपक पन्थ तथा युवा कवि सदाशय गौतमलगायतले पनि कविता वाचन गर्नुभएको थियो। कार्यक्रममा भानु प्रतिष्ठानका पदाधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

धेरै पढिएको

सम्बन्धित समाचार