२७ सदस्यीय सचिवालयप्रति महेश बस्नेतको प्रश्न: ‘मन्त्री घटे, खर्च घटेन’
Advertisement 1

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाहको २७ सदस्यीय सचिवालय गठनप्रति असन्तुष्टि जनाएका छन्। उनले विगतमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ११ सदस्यीय सचिवालय रहेको स्मरण गराउँदै अहिले सचिवालयको आकार अनावश्यक रूपमा बढाइएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले भने, “गत वर्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सल्लाहकार ११ जना थिए, अहिले बालेन प्रधानमन्त्री हुँदा २७ जना पुगेछन्। मन्त्रीमण्डल सानो बनाएर राज्यको ढुकुटी बचाए भनेर हल्ला गर्ने बालेनहरू हिजो हटाइएका मन्त्री र सांसदका पीए तथा सल्लाहकारहरूलाई पुनः नियुक्ति दिएर राज्यकोषबाट तलब–सुविधा दिएर राखेका छन्।”
उनले मन्त्रीहरूको संख्या घटाइए पनि नियुक्ति र प्रशासनिक खर्च भने नघटेको दाबी गरेका छन्। बस्नेतले यसबाट राज्यकोषमा थप आर्थिक बोझ परेको जिकिर गर्दै, विगतमा अरूको आलोचना गर्नेहरू अहिले आफैं पद, नियुक्ति र सुविधा विस्तारमा लागेको टिप्पणी गरेका छन्।
यस विषयमा प्रधानमन्त्रीको सचिवालयबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।



प्रतिक्रिया दिनुहोस्