रिलायन्स करियर टक–२०८३ सम्पन्न: १,५०० भन्दा बढी विद्यार्थीलाई करियर, नेतृत्व र रोजगारीबारे विज्ञको मार्गदर्शन

Advertisement 1
काठमाडौं। चाबहिलस्थित रिलायन्स कलेजले स्नातक तहका विद्यार्थीहरूको करियर विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा रोजगारीका अवसरबारे जानकारी गराउने उद्देश्यले आयोजना गरेको ‘रिलायन्स करियर टक–२०८३’ आइतबार भव्य रूपमा सम्पन्न भएको छ। आयोजकका अनुसार कार्यक्रममा १,५०० भन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

Advertisement 2
‘शिक्षा र रोजगारी’ भन्ने मूल अवधारणालाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा बदलिँदो विश्वव्यापी श्रम बजार, आधुनिक कार्यक्षेत्रका चुनौती, आवश्यक व्यावसायिक सीप, नेतृत्व विकास, उद्यमशीलता तथा करियर निर्माणका विविध पक्षमा अन्तरक्रियात्मक प्यानल छलफल गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले विज्ञसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो करियरसँग सम्बन्धित जिज्ञासा राख्ने अवसर समेत पाएका थिए।

Advertisement 3
प्यानल छलफलमा सीएनएन हिरो तथा सामाजिक अभियन्ता पुष्पा बस्नेत, नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा रिगो नेपालका प्रमुख कार्यकारी अधिकृत मुकुन्द पोखरेल वक्ताका रूपमा सहभागी भएका थिए। उनीहरूले आफ्ना व्यावसायिक अनुभव, संघर्षका कथा, सफलताको यात्रा तथा भविष्यको रोजगारी बजारमा आवश्यक पर्ने ज्ञान, सीप र सकारात्मक सोचका विषयमा विद्यार्थीलाई प्रेरणादायी सुझाव दिएका थिए। कार्यक्रमको सहजीकरण पूर्व मिस नेपाल सुगरिका केसीले गरेकी थिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्र जंग थापाले शिक्षाले केवल शैक्षिक प्रमाणपत्र मात्र नभई विद्यार्थीलाई जीवन र पेशागत क्षेत्रमा सफल बनाउने क्षमता पनि विकास गर्नुपर्ने बताए। उनले विद्यार्थीलाई कक्षाकोठाभित्रको सिकाइसँगै व्यावसायिक संसारका अनुभव, अवसर र उद्योग–व्यवसायसँग जोड्ने उद्देश्यले ‘रिलायन्स करियर टक’ लाई वार्षिक कार्यक्रमका रूपमा निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिए।

वि.सं. २०६२ मा स्थापित रिलायन्स कलेजले रिलायन्स एजुकेसन नेटवर्कअन्तर्गत बीबीएस, बिबिए, बीए, बीएसडब्लुए, बीसीए, बीएससी सीएसआईटी, एमबीएस, एमबिए तथा सिए लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले ‘शिक्षा र रोजगारी’ अवधारणालाई व्यवहारमा उतार्दै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको मागअनुसार दक्ष, प्रतिस्पर्धी, सिर्जनशील र रोजगारीमुखी जनशक्ति बनाउने लक्ष्यसहित विभिन्न शैक्षिक, व्यावसायिक तथा करियर विकाससम्बन्धी कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।
आयोजकका अनुसार ‘रिलायन्स करियर टक’ जस्ता कार्यक्रमले विद्यार्थीलाई अध्ययनसँगै भविष्यको करियर योजना बनाउन, आत्मविश्वास अभिवृद्धि गर्न तथा रोजगारदाता संस्थाले अपेक्षा गर्ने व्यावसायिक सीप विकास गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ।



प्रतिक्रिया दिनुहोस्