‘स्वदेशमै गुणस्तरीय उच्च शिक्षा सम्भव छ’ भन्ने सन्देशसहित जया मल्टिपल कलेजद्वारा ५ सयभन्दा बढी कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मानसहित बिदाइ

Advertisement 1
काठमाडौं, असार २७ – गोकर्णेश्वर–८, मकालबारीस्थित जया मल्टिपल कलेजले शैक्षिक सत्र २०८२ (Batch 2082) का कक्षा १२ उत्तीर्ण पाँच सयभन्दा बढी विद्यार्थीलाई सम्मान तथा बिदाइ गरेको छ। विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, कलेजका पदाधिकारी तथा शिक्षा, प्रशासन र सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूको सफल शैक्षिक यात्राको सम्मान गर्नुका साथै उनीहरूको आगामी अध्ययन र जीवन यात्राका लागि शुभकामना व्यक्त गरेको थियो।

Advertisement 2
कार्यक्रमका सभापति तथा क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले जया मल्टिपल कलेजले विगत ३० वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको बताए। गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्दै दक्ष, अनुभवी र समर्पित शिक्षकहरूको माध्यमबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा कलेज निरन्तर क्रियाशील रहेको उनको भनाइ थियो।

Advertisement 3
उनले पछिल्ला वर्षहरूमा विदेश जाने आकर्षण बढ्दै गए पनि नेपालमै गुणस्तरीय उच्च शिक्षाको पर्याप्त अवसर रहेको उल्लेख गर्दै कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई स्नातक तहको चारवर्षे अध्ययन जया मल्टिपल कलेजमै निरन्तरता दिन आग्रह गरे। कम्तीमा स्नातक तहसम्म नेपालमै अध्ययन गरेर ज्ञान, सीप र क्षमता विकास गर्न सके भविष्यका अवसरहरू अझ फराकिला हुने उनको धारणा थियो। “विदेश जानुभन्दा पहिले आफ्नो शैक्षिक आधारलाई बलियो बनाउनु आवश्यक छ,” भन्दै उनले विद्यार्थीहरूलाई अध्ययनप्रति निरन्तर समर्पित रहन आग्रह गरे।

कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. दीपकबहादुर शाक्यले आफ्नो बाल्यकालका संघर्ष, अध्ययनका अनुभव तथा जीवन यात्राका महत्वपूर्ण प्रसङ्ग सुनाउँदै सफलता कुनै संयोग नभई निरन्तरको मेहनत, अनुशासन र सकारात्मक सोचको परिणाम हुने बताए। उनले विद्यार्थीहरूलाई असफलतासँग नआत्तिन, निरन्तर सिक्दै अघि बढ्न र आफ्नो लक्ष्यप्रति दृढ रहन प्रेरित गरे। शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि र समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै उनले जिम्मेवार, अनुशासित र नैतिक नागरिक बन्न आग्रह गरे।

कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूद्वारा मायाको चिनो प्रदान गरिएको थियो। सम्मान ग्रहण गर्दै विद्यार्थीहरूले कलेजमा बिताएका अविस्मरणीय शैक्षिक यात्राको स्मरण गर्दै शिक्षक, कर्मचारी तथा कलेज परिवारप्रति आभार व्यक्त गरेका थिए। उनीहरूले कलेजबाट प्राप्त ज्ञान, अनुशासन र प्रेरणाले आगामी जीवनमा सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

औपचारिक कार्यक्रमसँगै विद्यार्थीहरूले नृत्य, गायन तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। वरिष्ठ गायिका कुन्ती मोक्तानले आफ्नो लोकप्रिय सांगीतिक प्रस्तुति मार्फत कार्यक्रमलाई थप आकर्षक बनाएकी थिइन् भने चर्चित हास्य कलाकार सुबोध गौतमको मनोरञ्जनात्मक प्रस्तुतिले उपस्थित सबैलाई उत्साहित बनाएको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमहरूले पनि कार्यक्रममा उल्लासपूर्ण वातावरण सिर्जना गरेका थिए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक विदुर फुयाल, नेपाल सरकारका पूर्व सह–सचिव हरिकृष्ण पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा समाजसेवी नारायण खतिवडा, समाजसेवी उत्तम पुडासैनी, समाजसेवी तथा अभियन्ता रामहरि श्रेष्ठ तथा अभियन्ता दिनेश भण्डारीलगायत शिक्षा, प्रशासन र सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। पाँच सयभन्दा बढी विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारी तथा अभिभावकहरूको सहभागिताले कार्यक्रमलाई थप भव्य बनाएको थियो।

तीन दशकदेखि गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण तथा दक्ष जनशक्ति उत्पादनलाई आफ्नो मुख्य उद्देश्य बनाउँदै आएको जया मल्टिपल कलेजले विद्यालय तहदेखि उच्च शिक्षासम्म हजारौँ विद्यार्थी उत्पादन गरिसकेको छ। कलेजले शैक्षिक उत्कृष्टतासँगै नेतृत्व विकास, व्यक्तित्व विकास, अतिरिक्त क्रियाकलाप तथा सामाजिक उत्तरदायित्वलाई समेत समान प्राथमिकता दिँदै आएको जनाएको छ। कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको सम्मान तथा बिदाइ कार्यक्रमले कलेज र विद्यार्थीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै आगामी दिनमा पनि गुणस्तरीय शिक्षामार्फत सक्षम, जिम्मेवार र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः स्पष्ट पारेको छ।



प्रतिक्रिया दिनुहोस्