वसन्त पञ्चमीको अवसरमा गोकर्णेश्वर–७ स्थित ग्रीन सिटी मन्टेश्वरीमा भव्य सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न
काठमाडौँ ।
Advertisement 1
शिक्षालाई संस्कार, अनुशासन, सृजनशीलता र नैतिक मूल्यसँग जोड्दै बालबालिकाको सर्वाङ्गीण विकासमा निरन्तर क्रियाशील गोकर्णेश्वर नगरपालिका–७ मा अवस्थित ग्रीन सिटी मन्टेश्वरीमा वसन्त पञ्चमीको पावन अवसरमा सरस्वती पूजा, अर्चना तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

Advertisement 2
विद्या, बुद्धि र विवेककी अधिष्ठात्री देवी श्री सरस्वती माताको विधिपूर्वक आराधनासहित आयोजना गरिएको कार्यक्रममा नानीबाबुहरूको शैक्षिक यात्रालाई शुभारम्भ गराउने उद्देश्यले पहिलो अक्षर लेखन (अक्षरारम्भ) गराइएको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयका कर्मचारीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
वसन्त पञ्चमीलाई शिक्षाको अत्यन्त शुभ दिनका रूपमा लिँदै आयोजना गरिएको यस कार्यक्रमले विद्यालय परिसरलाई भक्तिमय र उल्लासपूर्ण बनाएको थियो। बालबालिकामा शिक्षाप्रति रुचि अभिवृद्धि गर्नुका साथै संस्कारयुक्त आचरण, अनुशासन र सकारात्मक सोच विकास गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमका अवसरमा विद्यालयकी उप–प्रधानाध्यापक (Vice Principal) मोहनी कार्कीले ग्रीन सिटी मन्टेश्वरी केवल अक्षर चिनाउने विद्यालय मात्र नभई बालबालिकाको व्यवहार, संस्कार र सोच निर्माणमा केन्द्रित शैक्षिक संस्था भएको बताइन्।
उनले भनिन्, “बालबालिकाको प्रारम्भिक शिक्षा जीवनभरको आधार हो। यस चरणमा सही संस्कार, अनुशासन र सकारात्मक वातावरण दिन सकियो भने उनीहरूको भविष्य उज्यालो बन्छ। सरस्वती पूजाजस्ता कार्यक्रमले बालमनमा शिक्षाप्रति श्रद्धा र आत्मविश्वास जगाउन ठूलो भूमिका खेल्छ।”
उप–प्रधानाध्यापक कार्कीले अनुभवी शिक्षक टोली, बालमैत्री शिक्षण विधि र सुरक्षित वातावरणमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विद्यालय निरन्तर लागिरहेको उल्लेख गरिन्। “विद्यालय र अभिभावकबीचको सहकार्य बलियो भए मात्र गुणस्तरीय र प्रभावकारी शिक्षा सम्भव हुन्छ,” उनले जोड दिइन्।
कार्यक्रममा सहभागी सबैका लागि प्रसाद ग्रहणको व्यवस्था गरिएको थियो भने अभिभावकहरूले विद्यालयको शैक्षिक वातावरण, अनुशासन र शिक्षण शैलीप्रति सन्तुष्टि व्यक्त गरेका थिए। यसै अवसरमा विद्यालयले आगामी शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया तथा शैक्षिक गतिविधिबारे जानकारी गराउँदै अभिभावकहरूलाई विद्यालय अवलोकनको अवसरसमेत प्रदान गरेको थियो।
संस्कारयुक्त शिक्षा, बालमैत्री वातावरण, गुणस्तरीय पठनपाठन र आधुनिक शिक्षण प्रणालीको समन्वयमार्फत सक्षम, अनुशासित र सृजनशील बालप्रतिभा उत्पादन गर्ने लक्ष्यसहित ग्रीन सिटी मन्टेश्वरी निरन्तर अघि बढिरहेको विद्यालय प्रशासनले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्