काठमाडौं — नेपाल प्रहरीका पूर्व डिएसपी गोविन्द पन्थीले भिजिट भिसा दुरुपयोग प्रकरण अनुसन्धानका क्रममा आफूलाई गृहमन्त्रीको निर्देशनमा सरुवा गरिएको दाबी गरेका छन्। अहिले पुनः सोही प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा परेपछि पन्थीले सामाजिक सञ्जालमार्फत पुरानो प्रसंग सार्वजनिक गरेका हुन ।

पन्थीका अनुसार २०८० असोज १९ गते त्रिभुवन विमानस्थलबाट संकलित १,६४१ थान राहदानीसहितका कागजात उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको थियो। प्रारम्भमा अनुसन्धान ३ नं. पिलरमा परे पनि पछि अनुसन्धान जिम्मेवारी ८ नं. पिलरलाई दिइयो, जसको नेतृत्व पन्थीले गरेका थिए। अनुसन्धानको क्रममा अध्यागमन विभाग, श्रम विभाग, ट्राभल एजेन्सी, कन्सल्टेन्सी, होटल, एयरलाइन्स र म्यानपावर कम्पनीको मिलेमतोमा ठूलाे तस्करी सञ्चालन भइरहेको पत्ता लागेपछि ठूलो संख्यामा पक्राउ गरिएको उनले दाबी गरेका छन्।
पन्थीका अनुसार अनुसन्धानको सिलसिलामा २० जना दलाल, २० वटा ट्राभल, ८ वटा कन्सल्टेन्सी, केही नेता तथा कर्मचारीसमेत गरी ३७ जनालाई नियन्त्रणमा लिइएको थियो। उनीहरूलाई मानव तस्करी, किर्ते र संगठित अपराधअन्तर्गत मुद्दा चलाइएको थियो।
तर अनुसन्धानलाई संगठित अपराधमा लैजान सरकारी वकिलको असहयोग र प्रहरीसँगको विवादका कारण चुनौतीपूर्ण भएको पन्थीले उल्लेख गरेका छन्। उनले लेखेका छन्, “अनुसन्धान गर्दा मलाई अख्तियारमा १६ पाना विवरण भर्न धम्की पनि दिइयो।”
‘गृहमन्त्रीको निर्देशनमा सरुवा गरियो’
पन्थीले दाबी गरेका छन् कि अनुसन्धानको क्रममा गृहमन्त्रालयका अधिकारीहरू, अध्यागमनका कर्मचारी र केही नेताहरूको संलग्नता सार्वजनिक गरेपछि आफूलाई सरुवा गरियो। “मैले पत्रकार सम्मेलनबाट तथ्यमा आधारित भएर डेढदेखि दुई करोडसम्म दैनिक कमाइ हुने गिरोहको गतिविधि सार्वजनिक गरेपछि ठूलो थैली बुझाएर सरुवा गराइयो,” उनले लेखेका छन्।
उनले गृहमन्त्री रवि लामिछानेलाई पत्र लेखेर सरुवा रोक्न प्रयास गरे पनि ‘माथिको आदेश’ भन्दै रोकिएन। सो पत्र सार्वजनिक गर्ने तयारीमा आफू रहेको पन्थीको भनाइ छ।
‘न्यायिक आयोग नबनेसम्म ठूला माछा जोगिन्छन्’
पन्थीले यो प्रकरणको निष्पक्ष र गहिरो अनुसन्धान गर्न अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। “मन्त्रीदेखि प्रधानमन्त्रीको सचिवालयसम्मका व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन न्यायिक आयोग आवश्यक छ,” उनले भनेका छन्।
अख्तियार प्रमुख प्रेमकुमार राईले निडरतापूर्वक अनुसन्धान गर्न सके देशमा ठूलो उथलपुथल आउने पन्थीको विश्वास छ। उनले लेखेका छन्, “यो अवसर अख्तियार प्रमुखले सदुपयोग गरे इतिहासमा नाम लेखाउनेछन्।”
पन्थीको भनाइ जस्ताको त्यस्तै यस्तो छ:
> “त्रिभुवन विमानस्थलबाट शंकास्पद कागजात १६४१ राहदानीसहित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइयो। म त्यतिबेला ८ नं. पिलरको डीएसपी थिएँ। अनुसन्धानमा अध्यागमन, श्रम विभाग, ट्राभल, कन्सल्टेन्सी, होटल, एयरलाइन्स र म्यानपावर कम्पनीहरूको मिलेमतोमा ठूलो तस्करी देखिएपछि अनुसन्धान प्रतिवेदन पेश गरें।
तत्कालीन एसएसपी सोमेन्द्र सिंह राठौर सरको निर्देशनमा २० जना दलाल, २० ट्राभल, ८ कन्सल्टेन्सी, नेता र कर्मचारी गरी ३७ जनालाई नियन्त्रणमा लिइयो।
मैले तथ्यमा आधारित भएर गृह मन्त्रालयकै अधिकारीहरू संलग्न रहेको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि मलाई धम्की दिइयो र सरुवा गरियो।
अहिले सहसचिव तीर्थ भट्टराई अनुसन्धानको घेरामा छन्। यदि यो विषयमा गम्भीर छानबिन भयो भने गृहमन्त्रीदेखि प्रधानमन्त्रीको सचिवालयसम्मका व्यक्ति कानुनी कठघरामा आउनेछन्।
अख्तियार प्रमुखले निडरता देखाएमा इतिहास बनाउने अवसर यही हो।”
पुर्व डीएसपी गोविन्द पन्थीको यो दाबीले भिजिट भिसा सेटिङ प्रकरण अझै गहिरो छानबिनको खाँचो रहेको देखाएको छ। अख्तियारको सक्रियता र सम्भावित न्यायिक आयोग गठनले यस मुद्दालाई निर्णायक मोडमा पुर्याउने आशा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्