२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

समाचार

विपद् होस् वा विकास, हेलम्बु सधैं एक कदम अघि

१ वर्ष अगाडि

हेलम्बुमा विपद् पूर्व तयारी : नेपाल टेलिकमको ब्याकअप प्रणाली सञ्चालनमा, अध्यक्ष शेर्पा भन्छन्– ‘संकटको बेला अब सञ्जाल बन्द हुने छैन’

सिन्धुपाल्चोक, हेलम्बु- विपद् पूर्व तयारीलाई प्राथमिकता दिँदै हेलम्बु गाउँपालिकाले दूरसञ्चार सेवा अबरुद्ध हुन नदिन नेपाल टेलिकमसँग समन्वय गर्दै ब्याकअप प्रणालीको स्थापना सुरु गरेको छ। यसैक्रममा हेलम्बु–२ सिङेन्चेमा विद्युत् अवरुद्ध हुँदा मोबाइल सञ्जाल बन्द हुने समस्यालाई समाधान गर्न ब्याकअप प्रणालीको जडान कार्य सफलतापूर्वक सम्पन्न भएको छ।

गाउँपालिकाका अनुसार, यही प्रयासको निरन्तरतास्वरूप भोलि मेलम्ची घ्याङमा पनि यस्तै ब्याकअप प्रणाली जडान गरिने छ। यसबाहेक, हेलम्बु–४ मरम्चिमा रहेको टेलिकमको टावरमा पनि विद्युत् अवरुद्ध हुँदा नेटवर्क नजाने गरी ब्याकअप प्रणाली स्थापनाको तयारी भइरहेको छ।

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले यसलाई “विपद् व्यवस्थापनको एउटा महत्त्वपूर्ण पक्ष” भन्दै भने, “पहाडी भूगोलमा विपद् बेला सञ्जाल नहुँदा उद्धार तथा समन्वयमा ठूलो समस्या पथ्र्यो। अहिले हामीले नेपाल टेलिकमसँग मिलेर यस्तो अवस्थामा पनि सञ्जाल कायम राख्ने व्यवस्था मिलाएका छौं।”

उनका अनुसार प्राथमिकतामा रहेका क्षेत्रमा ब्याकअप प्रणाली सञ्चालनमा आइसकेको छ र बाँकी क्षेत्रमा पनि क्रमशः विस्तार गरिनेछ। “अब संकटको बेला संचार अबरुद्ध हुने छैन, सूचना सम्प्रेषणमा अवरोध नआओस् भनेर हामी संचार अब सधैं उपलब्ध हुने वातावरण बनाउँदैछौं,” अध्यक्ष शेर्पाले भने।

स्थानीय बासिन्दाको सकारात्मक प्रतिक्रिया
स्थानीयवासीले यस पहलको खुलेर स्वागत गरेका छन्। बर्खायाम वा भूकम्पजस्ता आपतकालीन अवस्थामा संचार अवरुद्ध हुँदा उद्धार, राहत र सम्पर्कमा समस्या पर्ने गरेको उनीहरूको भनाइ छ। नयाँ ब्याकअप प्रणालीले यस्तो कठिनाइ अब नदोहोरिनेमा आशावादी बनाएको छ।

शिक्षा र संरचनाको सुरक्षातर्फ पनि जोड
साथै, गाउँपालिकाले मेलम्ची उपत्यकामा रहेको मेलम्ची भ्याली क्याम्पसको संरक्षणका लागि आवश्यक पूर्वाधार योजनामा पनि ध्यान दिइरहेको जनाएको छ। भूकम्प र बाढीका कारण उच्च जोखिममा रहेका शैक्षिक संरचनाको दीर्घकालीन सुरक्षाका लागि बलियो संरचना निर्माण गरिने अध्यक्ष शेर्पाले जानकारी दिए।

डुङ्ग्री बजार क्षेत्रको सडक संरक्षण
डुङ्ग्री बजार क्षेत्र आसपासको मुख्य सडक कटान तथा भासिने सम्भावना रहेको भन्दै हाल त्यस क्षेत्रको सडक संरक्षण र मजबुतीकरणको काम समेत भइरहेकाे छ। यो कार्य सम्पन्न भएपछि दुर्गम क्षेत्रमा हुने आवतजावत अझ सहज हुने गाउँपालिकाको दाबी छ।

टिम्बु क्षेत्रमा बस्ती र यातायात सुरक्षाको पहल
त्यस्तै, हेलम्बुको टिम्बु क्षेत्रमा वर्षा र पहिरोको उच्च जोखिम भएकाले बस्ती संरक्षण तथा आपतकालीन समयमा यातायात सञ्चालन कसरी निरन्तर राख्ने भन्नेबारे पनि व्यापक तयारी भइरहेको छ। स्थानीय जनशक्ति, सुरक्षा निकाय र प्राविधिक टोलीको समन्वयमा काम अगाडि बढाइएको गाउँपालिका स्रोतले जनाएको छ।

अन्य सेवा प्रदायकसँग पनि समन्वय हुँदै
गाउँपालिकाले भविष्यमा अन्य दूरसञ्चार सेवा प्रदायकहरूसँग समेत समन्वय गरी यस्ता ब्याकअप प्रणाली तथा पूर्वतयारी प्रविधिहरू विस्तार गर्ने योजना बनाएको छ। विपद् व्यवस्थापनलाई दीर्घकालीन रणनीतिका रूपमा अगाडि बढाउने उद्देश्यसहित काम भइरहेको छ।

 

धेरै पढिएको

सम्बन्धित समाचार