छ्यादी डाँडा : हेलम्बुको उच्च हिमाली गहिराइमा चम्किँदै उदाउँदैछ नयाँ पर्यटकीय गन्तव्य
हेलम्बु, सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिकाको उच्च हिमाली क्षेत्र छ्यादी डाँडा, करिब ४६०० मिटर उचाइमा अवस्थित, अहिले एक उदाउँदै गरेको आकर्षक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदैछ। प्राकृतिक सौन्दर्य, धार्मिक महत्व, मौलिक संस्कृति र पर्यावरणीय चेतनाको अनुपम संगम बोकेको यो स्थान योजनाबद्ध रूपमा दिगो, समावेशी र समुदाय-सञ्चालित पर्यटन मोडेलमा रूपान्तरण भइरहेको छ।

छ्यादी डाँडासम्म पुग्न सकिने वैकल्पिक पदयात्रा र सवारी मार्गहरू मेलम्ची घ्याङ, गप्टे, सेर्माथाङ र कुटुमसाङ हुँदै विस्तार गरिएका छन्। यस पहुँच विस्तारले काठमाडौंलगायत देशभरिका हिमप्रेमी पर्यटकलाई छोटो अवधिमा पनि हिमाली सुन्दरता नजिकबाट अनुभव गर्ने अवसर दिएको छ। यात्रा मार्गमा पर्ने हेलम्बुको चर्चित “Great Trail” को अवलोकनले यो गन्तव्यको अनुभव अझ समृद्ध बनाउँछ।

प्राकृतिक सुन्दरता र हिमशृङ्खलाको दिव्य दृश्य
छ्यादी डाँडाबाट लाङटाङ, दोर्जे लाक्पा, जुगल र गणेश हिमालको भव्य दृश्यावलोकन सम्भव हुन्छ। डाँडाको टुप्पोबाट देखिने सूर्योदय र सूर्यास्तका क्षणहरू यात्रुलाई मन्त्रमुग्ध पार्छन्। हरियाली वन, जैविक विविधता, शान्त वातावरण र सफा आकाशले यो स्थानलाई चित्रजस्तै बनाएको छ।

धार्मिक शान्ति र अध्यात्मिक ऊर्जा
छ्यादी डाँडा बौद्धमार्गीहरूको लागि लामो समयदेखि साधना स्थल रहँदै आएको छ। हालसालै निर्माण गरिएको ‘मणि घुमे’ पदमार्गले पर्यटकलाई आध्यात्मिक अनुभव र ध्यानको अवसर दिन्छ। नजिकैको नेल्हार्कामा निर्माण भइरहेको स्तुपा र जांगदोबारी यस क्षेत्रलाई बौद्ध दर्शनको केन्द्रको रूपमा प्रोत्साहित गर्दैछन्।

पूर्वाधार विकासमा तीव्र गति
हेलम्बु गाउँपालिकाले पदमार्ग स्तरोन्नति, जीप ट्रयाक सुधार, विश्रामस्थल, सूचना केन्द्र, ढुंगे पर्खाल, शौचालय, खानेपानी, झोलुंगे पुल तथा आपतकालीन सहायता केन्द्र निर्माणमा विशेष ध्यान दिएको छ। वर्षायाममा हुने अवरोधलाई न्यूनिकरण गर्न टिकाउ मार्गको विकास जारी छ। प्लास्टिक न्यूनीकरण, फोहोर व्यवस्थापन र हरियाली संरक्षणमार्फत वातावरणीय सन्तुलनमा पनि सक्रियता देखिएको छ।

गाउँ पर्यटन र स्थानीय सशक्तीकरण
पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्दै छ्यादी डाँडालाई “अनुभवको थलो” बनाउने लक्ष्य लिएको छ। होमस्टे सेवा विस्तार, स्थानीय खाना परिकार, सांस्कृतिक नृत्य तथा हस्तकला प्रदर्शनीमार्फत पाहुनालाई मौलिकता भिजाउने रणनीति अपनाइएको छ। पालिकाले स्थानीयलाई तालिम, सीप विकास, सहकारी गठन र अनुदानको व्यवस्था गरिरहेको छ, जसले ग्रामीण जनजीवनमा प्रत्यक्ष सुधार ल्याउन थालेको छ।

पर्यटकको लागि सुविधा सम्पन्न आधार क्षेत्र
छ्यादी डाँडाको यात्रा मार्गमा पर्ने थाडेपाटी र मगेनकोटजस्ता ठाउँमा सुविधा सम्पन्न होटेल तथा विश्रामस्थलहरूको विकास भइसकेको छ। यी स्थानहरूमा बसाइ गर्दै पर्यटकले आरामसँग भोजन, विश्राम र स्थानिय संस्कृतिको अनुभूति गर्न सक्छन्।
गाउँपालिका अध्यक्षको दृष्टिकोण
हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भन्छन्, “छ्यादी डाँडालाई हामी केवल दृश्यावलोकनको थलो होइन, धार्मिक भावना, प्राकृतिक सौन्दर्य र सांस्कृतिक जिवन्तताको संगमस्थलको रूपमा विकास गर्दैछौं। दीर्घकालीन सोच, वातावरणप्रेमी नीतिहरू र स्थानीय सहभागिताले यसलाई दिगो पर्यटनको सफल मोडल बनाउनेछ।”

सिन्धुपाल्चोकको गौरवतर्फ यात्रा
नजिकिँदै गरेको भ्रमण वर्ष र आन्तरिक पर्यटन प्रवर्द्धनको सन्दर्भमा छ्यादी डाँडा अब हेलम्बुको मात्र नभई पूरै सिन्धुपाल्चोक जिल्लाको गौरवमय पर्यटकीय परिचय बन्ने दिशामा छ। यहाँको मौलिकता, अध्यात्म, र हिमाली पहिचानलाई समेट्दै यो थलो पर्यटकको मन जित्ने निश्चित छ ।





प्रतिक्रिया दिनुहोस्