२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

समाचार

नाङ्गले–पटाप–सिन्धुपाल्चोक सडकका लागि ३० करोड बजेट विनियोजन, स्थानीय विकासमा आशा बलियो

१ वर्ष अगाडि

काठमाडौं, जेठ १८ — लामो समयदेखि स्थानीयस्तरमा माग भइरहेकाे नाङ्गले–पटाप–सिन्धुपाल्चोक सडक आयोजनाका लागि बागमती प्रदेश सरकारको सिफारिश र संघीय सरकारको समपुरक बजेटमार्फत ३० करोड रुपैयाँ विनियोजन गरिएको छ। यो उपलब्धिलाई स्थानीयबासीहरूले “ऐतिहासिक उपलब्धि” भन्दै स्वागत गरेका छन्।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्केको सक्रिय पहलमा, संघीय राष्ट्रिय योजना आयोग तथा संघीय सरकारसँगको सहकार्यबाट यो बजेट सुनिश्चित गरिएको हो। स्थानीय जनप्रतिनिधि, राजनीतिक नेतृत्व र नागरिक समाजको निरन्तर समन्वय र दबाबपछि सडक आयोजनाले ठोस रुप लिएको हो
पूर्व कानुन तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ, जसलाई स्थानीयवासीहरूले यो बजेट ल्याउन विशेष पहलकर्ता मानेका छन्, सडकको महत्त्वबारे स्पष्ट पोजिसन लिँदै भन्छन्, “यो सडक केवल यातायातको साधन मात्र होइन, समृद्धिको ढोका हो। वर्षौँको हाम्रो प्रयास, जनदबाब, र सहकार्यको परिणामस्वरूप आज यो बजेट विनियोजन सम्भव भएको हो। अब चुनौती कार्यान्वयनमा पारदर्शिता, गति र गुणस्तर कायम गर्नु हो। स्थानीय जनताको विश्वास र भविष्य यो सडकसँग गाँसिएको छ।”
तामाङले यस सडकलाई “सिन्धुपाल्चोक र काठमाडौंको आर्थिक र सामाजिक सम्बन्ध गाँस्ने मेरुदण्ड” को रूपमा व्याख्या गरेका छन्।
पूर्व सांसद तथा नेकपा एमाले नेतृ सरिता न्यौपाने, पूर्व प्रदेश सांसद मणिराम फुयाल, साथै अमृत डङ्गोल, जीवन लामा लगायत स्थानिय नेताहरू र सामाजिक अभियन्ताहरूले निरन्तर दबाब र समन्वय गरी बजेट सुनिश्चित गराएको स्थानीय स्रोतले जनाएको छ।
स्थानीय अपेक्षा: पूर्वाधारसँगै समृद्धिको ढोका खुल्ने आशा
यो सडक निर्माणसँगै काठमाडौं उपत्यकासँगको भौगोलिक दुरी मात्र होइन, सामाजिक तथा आर्थिक अन्तर पनि कम हुने विश्वास गरिएको छ।
स्थानीय कृषक, साना व्यवसायी, विद्यार्थी तथा यातायात सेवा प्रदायकहरूले प्रत्यक्ष लाभ पाउने आशा गरिएको छ।
सिन्धुपाल्चोकका बासिन्दा गोविन्द लामा भन्छन्, “हामी वर्षौँदेखि यो सडकको सपना देख्दै आएका थियौं। अहिले बजेट आयो, अब कार्यान्वयनमा गम्भीरता देखियो भने हामी धेरै नजिक पुग्छौं समृद्धिको।”
अब ध्यान कार्यान्वयनमा: पारदर्शिता र गति अनिवार्य
बजेट विनियोजनपछि अब सबैको चासो निर्माण कार्यमा केन्द्रित भएको छ।
विकास योजनामा राजनीति भन्दा परिणाममुखी कार्यशैलीमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ। विज्ञहरूका अनुसार यदि निर्माण छिटो, गुणस्तरीय र पारदर्शी ढंगले सम्पन्न गरियो भने यो सडक बागमती प्रदेशकै नमूना पूर्वाधार परियोजना बन्न सक्छ।
प्रदेश सरकार र संघीय सरकारलाई धन्यवाद दिँदै स्थानीय संघसंस्था, नागरिक समाज तथा सरोकारवालाहरूले सडक निर्माणको प्रत्येक चरणमा निगरानी गर्ने प्रतिबद्धता जनाएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार