दुवाचौरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा प्रज्ञा विद्यालय प्रथम

मेलम्ची–७, दुवाचौरमा श्री बाल सुधार माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थी समाजद्वारा आयोजित अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रज्ञा आधारभूत विद्यालय प्रथम भएको छ।
कक्षा ४–५ स्तरका विद्यार्थी सहभागी प्रतियोगितामा प्रज्ञाले १७ अंक ल्याउँदै पहिलो स्थान प्राप्त गरेको हो। जुगल हिमाल इङ्लिस स्कुल १५ अंकसहित दोस्रो, बाल सुधार ‘जि’ १६ अंकसहित तेस्रो तथा बाल सुधार ‘एफ’ १४ अंकसहित सान्त्वना स्थानमा रहे।
प्रतियोगितामा वडाका तीन सामुदायिक र एक संस्थागत विद्यालय सहभागी थिए, भूतपूर्व विद्यार्थी समाजका सचिव नविन श्रेष्ठले जानकारी दिनुभयो।
कार्यक्रममा प्रमुख अतिथि वडा नं. ७ का अध्यक्ष पासाङ तामाङले यस्ता कार्यक्रमले शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले वडाभित्र पर्यटकीय क्षेत्र पहिचान र प्रवर्द्धनमा समाज, रेडियो मेलम्ची र वडाले सहकार्य गरिरहेको जानकारी पनि दिनुभयो।
बाल सुधार माविका प्रअ सूर्यप्रसाद श्रेष्ठ, वडा सचिव रुपकराज पाध्य, पूर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ लगायतले भूतपूर्व विद्यार्थी समाजको पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई नियमित गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष प्रदीप पुरीले संस्था सबैको सहकार्यमा मात्र अघि बढ्ने बताउँदै पूर्व विद्यार्थीलाई समाजमा आवद्ध हुन आह्वान गर्नुभयो।
कार्यक्रम सञ्चालन उपाध्यक्ष देवराज सुवेदीले गर्नुभएको थियो। कार्यक्रममा पूर्व गाविस अध्यक्ष अर्जुन गिरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षकलगायतको उपस्थिति रहेको थियो।



प्रतिक्रिया दिनुहोस्