नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनबाट उपाध्यक्ष ङावा ङिमा शेर्पासहित शेर्पा समुदायका सदस्यहरूको सामूहिक राजीनामा

काठमाडौं, भदौ ९ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले आफ्ना उपाध्यक्ष ङावा ङिमा शेर्पालाई संगठनविरुद्ध गतिविधि गरेको भन्दै दुई वर्षका लागि साधारण सदस्यताबाट समेत निष्कासन गरेसँगै, आज उनले व्यक्तिगत तथा सामूहिक रूपमा संगठनबाट राजीनामा दिएका छन्।
संगठनको निर्णयअनुसार, ७ भदौमा सम्पन्न नेपाल पर्वतारोहण संघ (NMA) को निर्वाचनमा संगठनले समर्थन गरेका उम्मेदवारलाई पराजित गराउन शेर्पाले सक्रिय भूमिका खेलेको भन्दै उनलाई निष्कासन गरिएको थियो। संगठनले आरोप लगाएको छ कि, उपाध्यक्ष रहेर समेत उनले आधिकारिक निर्णय विपरीत प्रतिस्पर्धी समूहका उम्मेदवारको प्रचारप्रसार गरेका थिए, मत मागेका थिए र संगठनको उम्मेदवार नभएको भन्दै अर्को समूहको कार्यक्रममा समेत सहभागी भएका थिए।
तर यसबारे असहमति जनाउँदै, पूर्व उपाध्यक्ष ङावा ङिमा शेर्पाले अध्यक्ष राजेन्द्र प्रसाद सापकोटालाई सम्बोधन गरी पेश गरेको राजीनामा पत्रमार्फत संगठनभित्रको कार्यशैली, गुटगत राजनीति, समन्वयको कमी र विशेषतः शेर्पा समुदायलाई लक्षित असंवेदनशील अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्।
शेर्पाले राजीनामा पत्रमा उल्लेख गरेका छन्, “हालै सम्पन्न NMA निर्वाचनमा मेरो सक्रिय सहभागिता व्यक्तिगत विवेक, पेशागत मूल्य र समावेशी नेतृत्वप्रतिको विश्वासबाट प्रेरित थियो। तर संगठनले त्यसलाई अनुशासनहीनता ठहर गर्दै निष्कासन गर्ने निर्णय गर्यो। यस सन्दर्भमा अध्यक्षज्यूसहित पदाधिकारीहरूले सामाजिक सञ्जालमार्फत हाम्रो समुदायलाई लक्षित गरी दिएका अभिव्यक्तिहरूको हामी कडा विरोध गर्दछौं।”
उनले संगठनप्रति कुनै द्वेष नराखी व्यक्तिगत रूपमा राजीनामा दिने निर्णय सार्वजनिक घोषणा गरेका छन्। साथै, संगठनभित्र सक्रिय रहेका अन्य शेर्पा समुदायका सदस्यहरूले पनि सामूहिक रूपमा आजकै मितिबाट राजीनामा दिने निर्णय गरेको उल्लेख गरिएको छ।
सामूहिक राजीनामा पत्रमार्फत उनीहरूले संगठनद्वारा आयोजना गरिने कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रममा अब सहभागी नहुने चेतावनीसमेत दिएका छन्। तर, उनीहरूको मूल राजनीतिक आस्था भने एमालेसँगै कायम रहने र पार्टीको नीति–विचारअनुसार पर्यटन तथा पर्वतारोहण क्षेत्रको समावेशी र पारदर्शी विकासमा सक्रिय रहने प्रतिबद्धता प्रकट गरिएको छ।
शेर्पा समुदायका सदस्यहरूको सामूहिक राजीनामासँगै नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनभित्र नयाँ विवाद सिर्जना भएको छ। लामो समयदेखि प्रभावशाली पदमा सक्रिय रहेका ङावा ङिमा शेर्पा संगठनकै सिफारिसमा नेपाल पर्यटन बोर्ड र टानको कार्यसमितिसम्ममा पुग्न सफल भएका थिए। तर पछिल्ला घटनाक्रमले संगठनभित्रको विभाजन अझ प्रष्ट बनेको देखिएको छ।



प्रतिक्रिया दिनुहोस्