२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

राजनीति

एमालेमा आन्तरिक झट्का : सिन्धुपाल्चोकमा ‘केपीविरुद्ध’ समूह बलियो, मतदान सहभागिता ऐतिहासिक रूपमा न्यून

६ महिना अगाडि

सिन्धुपाल्चोकमा एमाले महाधिवेशन प्रतिनिधि छनोट : ओली समूह कमजोर, ६० प्रतिशत सदस्य मतदानमै आएनन्

सिन्धुपाल्चोक— नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि जिल्लामा गरिएको प्रतिनिधि छनोट निर्वाचनमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहले कमजोर उपस्थिति देखाएको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ मा ईश्वर पोखरेल समूह प्रभावशाली देखिएको छ भने क्षेत्र नं. २ मा मात्र ओली समूहले तुलनात्मक रूपमा केही अग्रता लिएको छ। समग्र परिणामले ‘ओलीविरुद्ध’ लाइनको प्रभुत्व देखाएको विश्लेषण गरिएको छ।

यसैबीच, जिल्लाभरका ९ हजार ३७९ संगठित सदस्यमध्ये झन्डै ६० प्रतिशत — ५९.२३ प्रतिशत — सदस्यले मतदान नै नगरेपछि एमालेप्रति संगठित सदस्यहरूको चासो र संलग्नता कमजोर भएको चिन्ता पार्टीभित्रै उब्जिएको छ। शनिबार बिहानबाट सुरु भएको मतदान राति अबेरसम्म निरन्तर चलेको थियो।

निर्वाचन परिचालन समितिका संयोजक राधाकृष्ण श्रेष्ठका अनुसार खुला, महिला र युवा गरी तीनवटै कोटामा जम्मा १६ जना प्रतिनिधि निर्वाचित भएका छन्। दलित कोटामा भने प्रतिस्पर्धा नभएकाले निर्वाचन आवश्यक परेन।

यसपटक एमालेले दुवै क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि छान्दै संगठनलाई ‘आन्तरिक रूपमा सुदृढ बनाउने’ रणनीति अपनाएको देखियो।

क्षेत्र नं.–१ : ‘पोखरेल लाइन’ बलियो, महिलामा सुशीला पाख्रिन सर्वाधिक मत

क्षेत्र नं. १ मा जिल्ला कमिटीका पूर्व अध्यक्ष कमल नेपाल १ हजार ६० मतसहित सबैभन्दा बढी मत ल्याउँदै विजयी भए। लामो समयदेखि सक्रिय स्थानीय नेता नेपाल पहिले लिसंखुपाखर गाउँपालिकाका अध्यक्षसमेत रहिसकेका छन्।

दोस्रो स्थानमा ९३९ मतसहित जुगल–७ का पूर्व वडाध्यक्ष दिलकुमार लामा परे। ९३२ मत पाएका होमनारायण श्रेष्ठ तेस्रो स्थानमा रहे। श्रेष्ठ जुगल गाउँपालिकाका पूर्व अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका पूर्व अध्यक्षसमेत हुन्।

खुलातर्फ प्रेम लामा (९२२) र प्रदीप पौडेल (९२१) निर्वाचित भए।
महिला कोटा सबैभन्दा प्रतिस्पर्धी रह्यो—सुशीला पाख्रिनले १ हजार १४३ मत ल्याउँदै न केवल महिलामा, सबै उम्मेदवारमध्ये नै सर्वाधिक मत ल्याउने नेताका रूपमा उदिन्। दाबुटी शेर्पा (९२०) दोस्रो र कमला कायस्थ (८५३) तेस्रो स्थानमा रहिन्।

४० वर्ष मुनिका युवा कोटाबाट आङ्दोर्जे शेर्पा ९६१ मत ल्याउँदै विजयी भए।
५ हजार ६६८ मतदातामध्येकै २ हजार ६३ जनाले मतदान गरे—कुल ३६.३९ प्रतिशत।

क्षेत्र नं.–२ : तामाङ–लामा बीच कडा प्रतिस्पर्धा, ओली लाइनले यहाँ मात्रै अग्रता

क्षेत्र नं. २ मा खुलातर्फ एमाले सिन्धुपाल्चोकका सचिव तथा पूर्व जिल्ला समन्वय समिति अध्यक्ष कृष्णगोपाल तामाङ १ हजार ११२ मतसहित पहिलो भए।
सिर्फ ९ मतले टासी लामा पछि परे—१ हजार १०३ मत। लामा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष तथा भौतिक विकासका एजेन्डामा सक्रिय नेताका रूपमा चर्चित छन्।

तेस्रो स्थानमा हस्तबहादुर पण्डित (१,०५२ मत) र चौथोमा मित्रलाल चौलागाईं (८९९ मत) परे।

महिला कोटामा सुनिता पराजुली १ हजार १ मतसहित विजयी भइन्।
दोस्रो स्थानमा ७८२ मतसहित बालकुमारी सापकोटा परिन्।

युवा कोटामा अनेरास्ववियुका पूर्व अध्यक्ष हिरा चौलागाईं ७३१ मतसहित विजयी भए।

३ हजार ७११ संगठित सदस्यमध्ये १ हजार ७४४ जनाले मतदान गरे—४७.४५ प्रतिशत।
यसअघि नै दलित प्रतिनिधि मधुरा विक निर्विरोध बनेका थिए।

एमालेको ६० प्रतिशत मतदाता ‘हरायो’ : संगठनात्मक सक्रियता नै प्रश्नचिह्न

सिन्धुपाल्चोकमा एमाले संरचनाको उपस्थितिभन्दा बढी अनुपस्थित मतदाताले पार्टी संगठनप्रतिको वास्तविक चासोबारे गम्भीर प्रश्न खडा गरेको छ।
जिल्लाभर करिब ६० प्रतिशत मतदाता मतदानमा नआउनु, दुवै क्षेत्रमा ५० प्रतिशतभन्दा कम सहभागिता हुनु र गुटीय खिचातानीबीच संगठन कमजोर हुँदै गएको चिन्हका रूपमा हेरिएको छ।

स्थानीय नेताहरूका अनुसार महाधिवेशन प्रतिनिधि छनोटजस्ता आन्तरिक निर्वाचनमा यति कम सहभागिता हुनु एमालेका लागि ‘गम्भीर चेतावनी’ बराबर हो।

धेरै पढिएको

सम्बन्धित समाचार