कांग्रेस जोगाउने जिम्मेवारी : दोषारोपण होइन, सामूहिक उत्तरदायित्व आवश्यक
– रबिन्स शर्मा, नेपाली कांग्रेसका नेता

नेपाली कांग्रेस नेपालको प्रजातान्त्रिक आन्दोलनको पहिलो र ऐतिहासिक राजनीतिक संस्था हो। यही पार्टीले निरङ्कुशता विरुद्ध लड्दै लोकतन्त्र, बहुदलीय व्यवस्था र नागरिक अधिकारको आधार निर्माण गरेको इतिहास हामी सबैका लागि गौरवको विषय हो। तर आज यही ऐतिहासिक पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्व, आरोप–प्रत्यारोप र व्यक्तिगत वर्चस्वको प्रतिस्पर्धाले आम कार्यकर्ता र नागरिकलाई चिन्तित बनाएको छ।
पार्टीको जिम्मेवार नेतृत्ववर्गलाई एउटा महत्वपूर्ण सुझाव दिन आवश्यक ठानेर यो लेख लेख्दैछु। आज पार्टीभित्र देखिएको मूल समस्या के हो भने, जिम्मेवारी पदमा पुगेपछि सफलताको श्रेय लिन सबै तयार हुने तर असफलता र कमजोरीको जिम्मेवारी लिन कोही तयार नहुने प्रवृत्ति हावी हुँदै गएको छ। एकले अर्कोलाई दोष लगाउने, विचारविहीन, सिद्धान्तविहीन र नीतिविहीन भन्दै व्यक्तिगत आक्रमण गर्ने संस्कारले पार्टीलाई कमजोर बनाइरहेको छ। यसले कांग्रेसलाई बिस्तारै व्यक्ति–प्रधान र निर्दलीय चरित्रतर्फ धकेलिरहेको महसुस हुन्छ।
नेपाली कांग्रेसजस्तो जिम्मेवार र पुरानो पार्टीले आफूलाई व्यक्ति होइन, सिद्धान्त, निष्ठा, इमान्दारिता, विधि र पद्धतिका आधारमा अघि बढाउनुपर्छ। आम नेपाली जनताले कांग्रेसबाट प्रजातन्त्रको अनुभूति खोजिरहेका छन्, गुट–उपगुटको तमासा होइन। पार्टीभित्रका आन्तरिक मतभेद लोकतान्त्रिक अभ्यासको हिस्सा हुन सक्छन्, तर ती मतभेदले पार्टीलाई विभाजनतर्फ लैजाने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय हो।
अहिले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा तीव्र तर्क–वितर्क भइरहेको छ। यदि दुवै पक्षले आ–आफ्नो अडान मात्र कायम राख्दै लचिलोपन नदेखाउने हो भने पार्टी विभाजनतिर उन्मुख हुने खतरा नकार्न सकिँदैन। यो अवस्थामा पार्टी जोगाउने जिम्मेवारी केन्द्रीय कमिटीको काँधमा छ।
विशेष महाधिवेशन गरेर कुनै एक व्यक्ति विशेषलाई हटाउँदैमा वर्तमान समस्या समाधान हुँदैन। समस्या व्यक्ति होइन, प्रणाली र सामूहिक जिम्मेवारीको अभाव हो। त्यसैले मेरो स्पष्ट सुझाव छ—
हालका सभापति सहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूको विशेष महाधिवेशनमार्फत निर्वाचन गरियोस्। त्यसपछि आउँदो वैशाख महिनाबाट वडादेखि प्रदेशसम्मका अधिवेशनहरू सम्पन्न गरियोस्। नयाँ केन्द्रीय कमिटीको कार्यकाल एक वर्ष छ महिना तोकियोस्। विशेष परिस्थितिमा विशेष निर्णय गर्नु स्वाभाविक र आवश्यक हुन्छ। पछि आवश्यकता अनुसार अर्को डेढ वर्ष थप्दा पार्टीलाई कुनै नोक्सानी हुँदैन।
आजको आवश्यकता संयम, परिपक्वता र दूरदर्शिता हो। सबै पक्षले अवस्थाको गम्भीरतालाई आत्मसात गर्दै पार्टी जोगाउने अभियानमा जुट्नुपर्छ। आम नागरिकको चाहना स्पष्ट छ— देशका पुराना, जिम्मेवार र लोकतान्त्रिक पार्टीहरू फुटून् होइन, राष्ट्रियता र प्रजातन्त्रको पक्षमा अझ बलियो गरी जुटून्।
आफ्नै पार्टीभित्र, आफ्नै मित्रहरूसँग हार–जितको खेल खेलेर कांग्रेस बलियो हुँदैन। समयले हामीलाई आत्ममन्थन र एकताको बाटो रोज्न आग्रह गरिरहेको छ। आउनुस्, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, सबै मिलेर नेपाली कांग्रेस जोगाऔँ।



प्रतिक्रिया दिनुहोस्