प्याब्सनको ३५ औँ स्थापना दिवस: राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा भव्य कार्यक्रम सम्पन्न

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३५ औँ स्थापना दिवसको अवसरमा काठमाडौँ जिल्ला प्याब्सनद्वारा राष्ट्रिय प्रज्ञा प्रतिष्ठान, कमलादीमा एक भव्य तथा अर्थपूर्ण कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको छ। शैक्षिक क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागितासहित सम्पन्न उक्त कार्यक्रमले निजी शिक्षा क्षेत्रको योगदान, उपलब्धि र भावी चुनौतीबारे गम्भीर छलफलको वातावरण सिर्जना गरेको थियो।
कार्यक्रममा काठमाडौँ जिल्लाभित्रका विभिन्न निजी तथा आवासीय विद्यालय, शैक्षिक संस्थाका प्रतिनिधि, विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रसँग सरोकार राख्ने व्यक्तिहरूको व्यापक सहभागिता रहेको थियो। साथै विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थितिले कार्यक्रमलाई थप महत्व दिएको थियो। उपस्थित वक्ताहरूले निजी विद्यालयहरूले नेपालको शिक्षा प्रणालीमा खेलेको भूमिकालाई राज्यले सकारात्मक रूपमा मूल्यांकन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्टले प्याब्सनको ३५ वर्षे यात्राले निजी विद्यालयहरूलाई संगठित गर्दै गुणस्तरीय शिक्षा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले निजी विद्यालयहरू केवल नाफामुखी संस्था नभई राष्ट्र निर्माणका सहयात्री भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा निजी–सरकारी सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरे। अध्यक्ष भट्टले शिक्षकको पेशागत विकास, विद्यार्थीमैत्री शिक्षा प्रणाली र अभिभावकसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपाली कांग्रेसका शिक्षा विभाग प्रमुख नैन सिंह महरले शिक्षा क्षेत्रलाई राजनीतिक स्वार्थभन्दा माथि राखेर राष्ट्रिय एजेन्डाका रूपमा विकास गर्नुपर्ने बताए। उनले निजी विद्यालयहरूको योगदानलाई नकारात्मक रूपमा चित्रण गर्ने प्रवृत्ति गलत भएको भन्दै, गुणस्तरीय शिक्षा प्रदान गर्ने जुनसुकै प्रयासलाई राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा राखे। महरले शिक्षा नीतिमा स्थायित्व, पाठ्यक्रममा समयानुकूल सुधार र शिक्षकको मर्यादा अभिवृद्धि आजको आवश्यकता भएको उल्लेख गरे।
यस अवसरमा प्याब्सन केन्द्रीय उपाध्यक्ष रबिन्स शर्माको पनि गरिमामय उपस्थिति रहेको थियो। उनले प्याब्सनको केन्द्रीय नेतृत्वको तर्फबाट शुभकामना व्यक्त गर्दै निजी विद्यालयहरूले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए। उपाध्यक्ष शर्माले शिक्षालाई केवल परीक्षा केन्द्रित नभई सीप, संस्कार र संस्कृतिसँग जोडेर लैजानुपर्ने आवश्यकता औंल्याए। “विद्यार्थीलाई प्रतिस्पर्धी मात्र होइन, जिम्मेवार र नैतिक नागरिक बनाउने दायित्व विद्यालयको हो,” उनले भने।
कार्यक्रममा प्याब्सनका वरिष्ठ सल्लाहकार डिके ढुंगानाले पनि आफ्ना धारणा राख्दै प्याब्सनको स्थापना कालदेखि हालसम्मको यात्रामा आएको परिवर्तन र चुनौतीबारे चर्चा गरे। उनले संस्थागत एकता, पारदर्शिता र दीर्घकालीन रणनीतिबिना शिक्षा क्षेत्रको दिगो विकास सम्भव नहुने उल्लेख गरे।
कार्यक्रमको अर्को प्रमुख आकर्षणका रूपमा विभिन्न विद्यालयका विद्यार्थीहरूको प्रतिनिधित्व रहेको सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए। विद्यार्थीहरूले नेपाली मौलिकता, जातीय विविधता र सांस्कृतिक पहिचान झल्किने प्रतिभा नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए। यस्ता प्रस्तुतिले विद्यार्थीभित्र रहेको सिर्जनशीलता उजागर हुनुका साथै आफ्नै संस्कृति र परम्पराप्रति गर्व गर्ने भावना विकास भएको सहभागीहरूको प्रतिक्रिया थियो।
समग्रमा, प्याब्सनको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम शिक्षा, संस्कृति, सहकार्य र जिम्मेवारीको सन्देशसहित उल्लासमय वातावरणमा सफलतापूर्वक सम्पन्न भएको काठमाडौँ जिल्ला प्याब्सनले जनाएको छ। कार्यक्रमले निजी शिक्षा क्षेत्र र राज्यबीच सहकार्यको आवश्यकता झनै प्रस्ट पारेको सहभागीहरूको निष्कर्ष रहेको थियो।



प्रतिक्रिया दिनुहोस्