२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

समाचार

तेक्वान्दो रिङमा सम्पदा सिवाकोटीको जित: स्कुटरसँग चम्कियो सपना

११ महिना अगाडि

तेक्वान्दोमा सम्पदा सिवाकोटीको चमक: तारकेश्वरको रिङबाट स्कुटरसहित नयाँ उचाइमा

काठमाडौं —
तेक्वान्दोको रिङमा सम्पदा सिवाकोटीको आक्रामकता, चपलता र अनुशासनले तारकेश्वरलाई अझ विशेष बनायो। चौथौं बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता–२०८२ मा महिला तर्फ सम्पदाले पहिलो स्थान हात पार्दै स्कुटर पुरस्कार जितेकी छन्। उनको जितले खेलकुदमा नारी सहभागिता र क्षमताको बलियो सन्देश दिएको छ।

तीन दिनसम्म चलेको प्रतियोगितामा सम्पदाले प्राविधिक कौशल, आत्मबल र निरन्तर मेहनतको प्रभावशाली प्रदर्शन गरिन्। प्रत्येक प्रतिस्पर्धामा उनले विरोधी खेलाडीलाई केवल अंकमै होइन, मनोबलमा पनि दबाबमा राखिन्। उनको फुर्तिलो चाल, संयमता र रफ्तारले प्रशिक्षकदेखि दर्शकसम्म लोभ्यायो।

पुरस्कार ग्रहण गरेपछि सम्पदाले भनिन्,
“तेक्वान्दो मेरो जीवनको अनुशासन र आत्मबल हो। मैले केवल खेल जितेकी होइन, आफ्नो मेहनत र समर्पणको सम्मान पाइरहेकी छु। स्कुटर पुरस्कारले मलाई अझ उत्साह थपेको छ। अब राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि आफ्नो पहिचान बनाउने लक्ष्य लिएको छु।”

सम्पदाको सफलतामा उनको परिवार, प्रशिक्षक र क्लबको ठूलो योगदान छ। उनी नियमित तालिम, कडा अभ्यास र खेलप्रतिको गहिरो लगावका कारण यो स्तरमा पुगेकी हुन्। प्रशिक्षकहरूले उनको खेलकला र जुझारुपनको प्रशंसा गर्दै उनलाई अझ फराकिलो प्लेटफर्ममा पुर्याउन आवश्यक सहयोगको प्रतिबद्धता जनाए।

यसै सन्दर्भमा सम्पदाका वुवा खड्ग प्रसाद सिवाकोटी भावुक हुँदै भन्छन्,
“छोरीको मेहनत देखेर गर्व लाग्छ। हामीले जहिले पनि उसलाई हौसला दिएका छौं। उसले आफ्नो लक्ष्य र सपना पूरा गर्न सकून् भन्ने मेरो चाहना हो। सम्पदाले देखाएको प्रतिबद्धता र अनुशासनले हामी अभिभावकलाई पनि आशावादी बनाएको छ। हाम्रो सधैं साथ रहनेछ।”

सम्पदाले थप भनिन्,
“महिलाहरू खेलकुदमा पछि पर्नुहुन्न। सशक्त र आत्मनिर्भर बन्न खेलले ठूलो भूमिका खेल्छ। मेरा लागि खेल केवल पदकको कुरा होइन, आत्मविश्वास र पहिचानको यात्रा हो।”

पञ्चकन्या ग्रुपको सहकार्यमा प्रदान गरिएको स्कुटर पुरस्कारले सम्पदालाई थप सहज र उत्साहित बनाएको छ। तारकेश्वरको रिङमा देखिएको उनको आत्मविश्वास र जोशले प्रदेशकै होइन, देशैभरिका किशोरी र महिलालाई खेलकुदमा लाग्न प्रेरणा दिएको अनुभूति भयो।

नगर प्रमुख हरिकृष्ण महर्जन, संघ अध्यक्ष केशव पुरी लगायतले सम्पदाजस्ता होनहार खेलाडीलाई प्रोत्साहन गर्दै भोलिका दिनमा उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन स्थानीय तह र संघसंस्थाले साथ दिने प्रतिवद्धता व्यक्त गरे।

धेरै पढिएको

सम्बन्धित समाचार