थाइल्याण्ड प्रस्थान गर्न लागेका नेपाली तेक्वान्दो टोलीको सेलिब्रेसन स्कुलमा भव्य बिदाइ

काठमाडौं, साउन २०, २०८२ — थाइल्याण्डको Pattaya City मा आगामी भदौ २४ र २५ गते (August 9–10, 2025) आयोजना हुने ८औं हीरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२५ मा सहभागी हुन लागेका नेपाली तेक्वान्दो खेलाडी तथा रेफ्री टोलीलाई आज सेलिब्रेसन को-एड स्कुलमा एक भव्य बिदाइ कार्यक्रम आयोजना गरी विदा गरिएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, स्कुलका शिक्षक तथा निर्देशकहरूको उपस्थितिमा खेलाडी तथा रेफ्री टोलीलाई सम्मानपूर्वक बिदाइ गरियो। कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा सदस्य मुक्ति दाहाल, सेलिब्रेसन स्कुलका निर्देशक महेन्द्र भट्टराई, प्रिन्सिपल मुरारी शर्मा लगायतले खेलाडीहरूलाई राष्ट्रिय प्रतिनिधित्वको गौरवसँगै उत्कृष्ट सफलताको शुभकामना दिए।

बिदाइ कार्यक्रममा टोलीका संयोजक तथा कोच विश्वस अर्यालले प्रतियोगिता ऐतिहासिक हुने उल्लेख गर्दै सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। यसैगरी, अन्तर्राष्ट्रिय रेफ्री राजेन्द्र डंगोल र मुना खवास मगरले पहिलो स्थानका लागि पूर्ण तयारीसहित प्रतियोगितामा प्रस्तुत हुने विश्वास व्यक्त गरे। खेलाडी र रेफ्रीहरूको उत्साहजनक उपस्थिति रहेको यस बिदाइ कार्यक्रमले सम्पूर्ण टोलीमा आत्मविश्वास र प्रेरणा थपेको विश्वास गरिएको छ।
थाइल्याण्डमा नेपालले उच्च प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय अनुभव सँगाल्ने र देशको गौरव बढाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्