२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

सेयर मार्केट्स

परदेशका सपनाभित्र एक्लिएको आँगन- लक्ष्मीप्रसाद आचार्य

१० महिना अगाडि

विदेशी सपनाको मूल्य: एक्लिँदै गएका बा–आमाको पीडा

रमेश

नेपालका लाखौं आमाबुबाको बिहान एउटै ढाँचामा सुरु हुन्छ गाई दुहेर, खेततिर गोरु हांक्दै, चिया नपिउँदै छोराछोरीलाई स्कुल पठाउने। उनीहरूले आफ्ना सपनाहरूको थैली च्यातेर बच्चालाई नयाँ झोला किनिदिन्छन्। फाटेका चप्पल लगाएर काममा हिँड्ने उनीहरू सधैं बच्चाका लागि सफा कपडा र जुत्ता सुनिश्चित गर्छन्। यो केवल दैनिकी होइन, यो त्यागको पूजा हो — जहाँ हरेक बाआमाले मनमनै भन्छन्, “हाम्रो सन्तान ठूलो बनून्।”

तर समयले त्यो “ठूलो बन्ने” सपना अब विदेशी टिकटसँग साटिन थालेको छ। प्लस टु सकेपछि हजारौं नेपाली युवाहरूको पहिलो इच्छा हुन्छ — “अब त विदेश जानुपर्छ।” त्यतिबेला न उनीहरूलाई आमाको निधार सम्झना आउँछ, न बाबाको पसिनाले भिजेको कुर्ता। न आँगनको तुलसी सम्झिन्छन्, न गाउँको बाटो, न देशको माटो। जब छोराले भन्छ, “बाबा, मलाई अस्ट्रेलिया जानु छ,” त्यो दिन बुबाले आफ्नो जीवनभरको सम्पत्ति, संघर्ष र सपना आँखामै देख्छन्। आमा अल्मलिँदै गहना गन्न थाल्छिन्, कति सुन बाँकी छ, कहाँ राखिएको थियो— सम्झन थाल्छिन्। ऋणको चक्रमा फस्दै, साहूको खुर्पेटोमा जीवन राखेर, उनीहरूले एउटा सपना हवाईजहाजमा उडाइदिन्छन्— टाढाको आकाशमा।

त्यो सपना फर्किएर प्रायः आउँदैन— न पैसा भएर, न छोराछोरीको स्पर्श भएर। उनीहरू गएका दिनदेखि नै घरभित्र मौनता पलाउन थाल्छ। न त बिहानको हाँसो आउँछ, न साँझको भलाकुसारी। विदेश पुगेपछि छोराछोरी स्वतन्त्रताको स्वादमा रमाउँछन्— ग्रीन कार्ड, फ्ल्याट, कार, स्वप्नील जीवनशैली। अब न आमाको “चाँडो उठ” भन्ने किचकिच हुन्छ, न बाबाको “पढ्न बसेस्” भन्ने कर।

यस्तो आत्मनिर्भरताको बीचमा पनि केही मौनताहरू बाँकी रहन्छन्, जुन न अमेरिकाको हरियालीले मेटाउँछ, न अष्ट्रेलियाको समुन्द्रले। त्यो मौनता अझ गहिरिन्छ जब छोराछोरीका सन्तानहरूका लागि ‘नेपाल’ एउटा ‘टुरिज्म डेस्टिनेसन’ मात्रै बन्न थाल्छ।

बा–आमाका लागि छोराछोरीको सफलता खुसीको क्षण हो— जब उनीहरू अफिसर बन्छन्, जब डिग्री हात पार्छन्। तर त्यो खुसी त्यतिबेला ओझेल पर्छ, जब बाआमाको बुढेसकाल रोगले थिच्न थाल्छ, अस्पताल धाउनुपर्छ, औषधी खानुपर्छ। छोरा टाढाबाट भन्छ— “बाबा, पैसा पठाएको छु, औषधी किन्नू।” तर बुबाको लागि त्यो औषधी मात्र औषधी होइन, त्यो त छोरोको काँधमा टेकेर एकपल्ट मुस्कुराउने आकांक्षा थियो। आमाले चाहेको सुनचाँदी होइन, नातिको अँगालो थियो।

अनि आउँछ त्यो दिन— जब बाआमा एक्लै मर्छन्। फोनमा खबर पुग्छ सात समुद्रपारि। छोरा विमान चढेर आउँछ, तर ढिलो भइसकेको हुन्छ। बुबाको अनुहार अन्तिम पटक देख्न पाउँदैन। काखमा राखेर रुन पाउँदैन। अस्पतालको मुर्दाघरमा शीतल अनुहार चिहाएर केवल फोटो लिन्छ। अनि फर्कन्छ— अर्को स्वप्निल देशतिर। अन्तिम संस्कार पनि आफन्तले गर्दिन्छन्— जसमा सन्तानको काँध थिएन।

समय बित्दै जान्छ। छोरा उतै विवाह गर्छ। नातिनातिनी जन्मिन्छन्— जो नेपाली बोल्न सक्दैनन्। दशैं, तिहार, औंसी, संक्रान्ति त केवल फेसबुक र इन्स्टाग्राम पोस्टको विषय बन्छ। “Oh wow grandpa, do you speak English?” भन्ने नातिको प्रश्नमा बुबा भित्रभित्रै भक्कानिन्छन्। तर हाँसेर भन्छन्— “थोरै।”

यता आमा भने ऋणका बोझले भाँच्चिइरहेकी हुन्छिन्। साहूको धम्की, बैंकको ब्याज, एक्लोपनको चिसो— यी सबैले भित्रैभित्रै जलाइरहेको हुन्छ। एक समय चाडपर्वमा सिंगारिन्थिन्, गहना लगाइन्थिन्। अब भन्छिन्— “मलाई त गहना लगाउने रहर नै मरिसक्यो।”

देश भनेको माटो मात्र होइन— यो हो बाआमाको सपना, संस्कारको सास, र युवाको भविष्य। जब देशका अस्पतालहरू डाक्टरविहीन, विद्यालयहरू शिक्षकविहीन, खेतहरू किसानविहीन र गाउँहरू युवाविहीन बन्छन्— तब देश रोइरहेको हुन्छ। त्यो रुवाइ चर्को हुँदैन— तर सुन्न सक्ने हृदयमा गहिरो घोचिन्छ।

विदेश जानु दोष होइन। तर विदेश गएर कहिल्यै फर्किनु छैन भन्ने सोच भने खतरनाक हो। त्यागको मूल्य पैसा होइन। आमाको निधारमा टाँसिएको तिमीको चिसो निधार, बाबाको काँध समाएर हिँड्ने तिमीको तातो स्पर्श— त्यो हो असली ऋण तिर्ने माध्यम।

प्रिय छोराछोरी हो, तिमी विदेश जान चाहन्छौ भने जाऊ। पढ, कमाऊ, अगाडि बढ। तर जाने बेलामा एकपल्ट आमाको आँखामा हेरेर निर्णय गर। बुबाको झुसे कपाल सुम्सुम्याएर सोच— तिमीले पछ्याउने सपना साँच्चिकै तिमीले रोजेको हो कि समाजले थोपरेको भ्रम मात्र?

देशमै केही गर्न सकिन्छ। गाउँ फर्केर आफ्नै खेत जोत्न सकिन्छ, आफ्नै विद्यालय चलाउन सकिन्छ, आफ्नै बाआमाको हात समाएर, उनीहरूको जीवनको अन्तिम अध्यायसम्म साथ दिन सकिन्छ। बाआमालाई आज पैसा होइन— तिमी नजिक चाहिएको छ।

फर्कनु आज पनि सम्भव छ। तर ढिलो नगर्नू— नत्र भोलि फर्किन खोज्दा, न देश बाँकी हुनेछ, न त बाआमाको मुस्कान।

धेरै पढिएको

सम्बन्धित समाचार