रिलायन्स कलेजद्वारा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीलाई भव्य विदाई

काठमाडौं। रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गतको रिलायन्स कलेजले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूलाई भव्य कार्यक्रमका बीच विदाई गरेको छ। बुधबार आयोजित उक्त कार्यक्रममा कलेजबाट विभिन्न संकायमा अध्ययन पूरा गरेका विद्यार्थीहरूलाई औपचारिक रूपमा विदाई गरिएको हो।
कार्यक्रममा स्नातक तह अन्तर्गत बीबीएस, बीसीए, बीएसआइटी र बीएसडब्लू तथा स्नातकोत्तर तह अन्तर्गत एमबीए र एमबीएस कार्यक्रम सफलतापूर्वक पूरा गरेका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका विशेष अतिथि तथा पठाओ नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) असिममान सिंह बस्नेतले विद्यार्थीहरूलाई प्रेरणादायी सम्बोधन गर्दै नेपालमै अपार सम्भावना रहेको र त्यसको पहिचान गर्दै अघि बढ्न युवाहरूले आँट गर्नुपर्नेमा जोड दिए। उनले लगनशीलता, इमान्दारिता र निरन्तर प्रयास भए नेपालमै पनि जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सकिने बताए।

‘आजभोलि प्लस टु वा स्नातक सकिनेबित्तिकै विद्यार्थी विदेशिने प्रवृत्ति बढ्दो छ,’ उनले भने, ‘यो नेपालमा अवसर नभएकाले होइन, अवसर देख्न नसकेर हो।’ देशलाई समृद्ध बनाउने जिम्मेवारी युवा पुस्ताकै काँधमा रहेको उल्लेख गर्दै उनले स्वदेशमै योगदान गर्न आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथि सानिमा बैंकका पूर्व सीईओ तथा नेपाल बैंकर्स एशोसिएसनका पूर्व अध्यक्ष भूवन दाहालले पनि नेपालमा पर्याप्त अवसर हुँदाहुँदै युवा वर्ग त्यसतर्फ आकर्षित हुन नसकेको धारणा व्यक्त गरे। ‘अवसर नभएको होइन, अवसरलाई हेर्ने दृष्टिकोण बदल्न आवश्यक छ,’ उनले भने। सफल करिअर र जीवन निर्माणका लागि अनुशासन, धैर्यता र सामूहिक सोच अपरिहार्य हुने उनको भनाइ थियो।
रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष तथा सभापति रविन्द्रजंग थापाले रिलायन्सले हरेक वर्ष सक्षम, दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्दै आएको बताए। ‘रिलायन्सबाट उत्तीर्ण विद्यार्थीहरू आज विभिन्न क्षेत्र र संस्थामा रहेर आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्, जसले हामीलाई गर्व गराएको छ,’ उनले भने। रिलायन्सबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू बेरोजगार बस्नुपर्ने अवस्था नरहेको दाबीसमेत उनले गरे।

कार्यक्रमका अवसरमा रिलायन्स कलेजमा अध्यापनरत पिएचडी होल्डर शिक्षकहरूलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो।
रिलायन्स एजुकेशन नेटवर्कले मन्टेश्वरीदेखि स्नातकोत्तर तहसम्म अध्ययन–अध्यापन गराउँदै आएको छ। स्नातक तहमा बीबीएस, बीए, बीसीए, बीएसआइटी तथा बीबीए कार्यक्रम सञ्चालनमा छन् भने स्नातकोत्तर तहमा एमबीए र एमबीएस कार्यक्रम सञ्चालन हुँदै आएका छन्।



प्रतिक्रिया दिनुहोस्