२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

शिक्षा

बर्षाले त्रिशूली र मेलम्चीमा खतराको संकेत, नागरिक सतर्क रहनुपर्ने

११ महिना अगाडि

वर्षाका कारण मेलम्ची, त्रिशूली र बउलिगाडमा बाढी–पहिरोको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं, १८ असार – देशका विभिन्न पहाडी र मध्यपहाडी क्षेत्रमा लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले नदी किनार तथा भिरालो क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

गए रातिदेखि देशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विशेषतः सिन्धुपाल्चोक, नुवाकोट र बझाङ जिल्लाका केही स्थानमा उल्लेख्य वर्षा मापन गरिएको छ।

सिन्धुपाल्चोकको मानेखर्क, गोब्रे र नुरपु गाउँ आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ। वर्षा अझै जारी रहने पूर्वानुमान गरिएको हुँदा मेलम्ची नदीमा जलसतह बढ्न सक्ने चेतावनी दिइएको छ।

नुवाकोटको त्रिशूली बेत्रावती वर्षामापन केन्द्रमा पनि मध्यम वर्षा मापन गरिएको छ। विभागका अनुसार त्रिशूली नदी बेत्रावती खण्डमा जलसतह बढ्दो क्रममा रहेको र यसले आसपासका भिरालो तथा कमजोर जमिनमा पहिरोको जोखिम निम्त्याउन सक्नेछ।

बझाङको बउलिगाड नदी जलमापन केन्द्रमा पानीको सतहले सतर्कता तह पार गरेको विभागले जानकारी दिएको छ। हाल नदीको सतह निरन्तर बढिरहेको र तटीय क्षेत्रका बासिन्दालाई बाढीको खतरा हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ।

जल तथा मौसम विभागको चेतावनी अनुसार भिरालो जमिन भएका क्षेत्रमा पहिरोको उच्च जोखिम छ। वर्षा थप हुनसक्ने भएकाले तटीय तथा पहाडी बासिन्दाले सजग रहनु आवश्यक रहेको र जलस्रोत नजिकै बसोबास गर्नेहरूलाई बाढीको सम्भावित जोखिम प्रति सावधान गराइएको छ।

दक्षिण एशियाली मनसुन सक्रिय भई नेपालमा लगातार वर्षा भइरहेकाले आकस्मिक अवस्था आउन सक्नेप्रति स्थानीय तह, सुरक्षा निकाय र बासिन्दा सबैलाई पूर्वतयारी गर्न विज्ञहरूले सुझाव दिएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार