राजनीतिबाट सन्यास घोषणा गर्दै जर्मनी प्रस्थान गरे गोरखाका वडाध्यक्ष सरोज लामा

गोरखा — गोरखाको चुमनुब्री गाउँपालिका–६ का वडाध्यक्ष सरोज लामाले सक्रिय राजनीतिबाट सन्यास लिँदै जर्मनी प्रस्थान गरेका छन्। नेकपा (माओवादी)बाट निर्वाचित लामा राजनीतिमा आफूले गरेको अथक परिश्रम र त्यागको उचित मूल्याङ्कन नपाएको भन्दै पद छाड्ने कठोर निर्णयमा पुगेका हुन्।
उडान अघि सामाजिक सञ्जालमार्फत लामाले आफ्ना मनका कुरा व्यक्त गर्दै लेखेका छन्—
“सकेसम्म सबैको चित्त बुझाउने गरी इमानदारीपूर्वक मेरो क्षमताले भ्याएसम्म भूमिका र कार्य सम्पादन गरियो। तर जति गर्दा पनि कहिले पनि जस नपाउने कामले मलाई आत्मसन्तुष्टी दिन सकेन। त्यसैले अबदेखि राजनीतिबाट सदाको लागि विदा भएको घोषणा गर्दै जिन्दगीलाई फेरि शून्यबाट सुरु गर्न परदेश लागेको छु।”
राजनीतिक यात्रामा साथ, सहयोग र विश्वास गर्ने सबैप्रति आभार प्रकट गर्दै उनले अब नयाँ जीवनको सुरुवात गर्न चाहेको उल्लेख गरेका छन्। लामाको यस्तो निर्णयले गाउँमै मात्र होइन, जिल्लाभर चासो र मिश्रित प्रतिक्रिया सिर्जना गरेको छ। स्थानीयवासीहरूले लामाले गरेका विकास कार्य र जनतासँगको निकटताले उनलाई सदैव सम्झिरहने बताएका छन्।
पद छाडेसँगै वडाबाट प्रवाह हुने सेवासुविधा प्रभावित नहुने स्पष्ट पार्दै उनले कार्यवाहक वडाध्यक्षमार्फत सबै नियमित कामकाज निरन्तर सञ्चालन हुने बताए।
जनतामाझ काम गर्ने अवसर पाए पनि त्यसको कदर नभएको पीडाले वडाध्यक्ष लामालाई राजनीति त्याग्न बाध्य बनाएको उनको अभिव्यक्तिले नेपाली राजनीतिक संस्कृतिप्रति प्रश्न उठाएको देखिन्छ।



प्रतिक्रिया दिनुहोस्