२०८३ असार २ मंगलवार
नेपाली समय

नेतृत्व, अनुशासन र उत्कृष्टताको पाठसहित रिलायन्सको २४औँ ओरियन्टेसन सम्पन्न

३ दिन अगाडि

रिलायन्स इन्टरनेशनल एकेडेमीको २४औँ ओरियन्टेसन भव्य सम्पन्न, नयाँ पुस्तालाई सपनादेखि सफलतासम्मको मार्गचित्र

Advertisement 1


काठमाडौं । शैक्षिक उत्कृष्टता, अनुशासन, नेतृत्व विकास तथा जीवनोपयोगी शिक्षालाई प्राथमिकतामा राख्दै आएको रिलायन्स इन्टरनेशनल एकेडेमीले शैक्षिक सत्र २०८३ का नवप्रवेशी विद्यार्थीहरूका लागि २४औँ ओरियन्टेसन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। स्मार्ट प्यालेसमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापनको उत्साहजनक सहभागिता रहेको थियो।
विद्यालयका अध्यक्ष रबिन्द्रजंग थापाको सभापतित्व तथा गोविन्द ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रमको सुरुवात बटुकद्वारा गरिएको स्वस्ती वाचनबाट भएको थियो। त्यसपछि दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। ध्यान अभ्यास तथा महिनाको विषयवस्तुबारे जानकारी प्रस्तुत गरिनुका साथै राष्ट्रिय गानसमेत गाइएको थियो।


विद्यालयका उपप्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्दै नवप्रवेशी विद्यार्थीलाई रिलायन्स परिवारमा स्वागत गर्नुभयो। कक्षा १२ की विद्यार्थी सृष्टि कटवालले वरिष्ठ विद्यार्थीहरूको तर्फबाट बोल्दै नयाँ विद्यार्थीलाई आत्मविश्वासका साथ आफ्नो शैक्षिक यात्रा अगाडि बढाउन प्रेरित गर्नुभयो।
कार्यक्रममा व्यवस्थापन तथा विज्ञान संकायका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति दिएका थिए। आठवटै विद्यार्थी क्लबहरूको तर्फबाट क्लब अध्यक्ष अंशु गुरुङले विद्यालयमा उपलब्ध नेतृत्व, सामाजिक उत्तरदायित्व तथा व्यक्तित्व विकासका अवसरबारे जानकारी गराउनुभएको थियो। एसएसआरओमार्फत ‘रिलायन्स कल्चर’ सम्बन्धी प्रस्तुति तथा शपथ ग्रहण कार्यक्रम पनि सम्पन्न गरिएको थियो।
विद्यालयका गजेन्द्र पौडेलले वर्षभर सञ्चालन हुने विभिन्न ECA तथा CCA गतिविधिबारे जानकारी गराउँदै विद्यार्थीलाई पढाइसँगै बहुआयामिक क्षमताको विकासमा सहभागी हुन आग्रह गर्नुभयो।
कार्यक्रममा सञ्चालक समिति सदस्य तथा चार्टर्ड एकाउन्टेन्ट राजु कुमार सिवाकोटी, शिक्षक प्रतिनिधि बीबी क्षेत्री तथा विज्ञान संकायका विजय उपाध्यायले शुभकामना मन्तव्य व्यक्त गर्दै सफलता प्राप्तिका लागि अनुशासन, निरन्तरता र समर्पणको महत्वबारे प्रकाश पार्नुभयो। कर्णसिंह खड्काद्वारा प्रस्तुत प्रेरणादायी कविताले कार्यक्रमलाई थप ऊर्जावान बनाएको थियो।
‘ह्वु इज ह्वु’ सत्रमार्फत विद्यालयका सम्पूर्ण शिक्षक तथा प्रशासनिक टोलीको परिचय गराइएको थियो। नवप्रवेशी विद्यार्थीहरूको तर्फबाट सृष्टि पुरीले धन्यवाद ज्ञापन गर्दै विद्यालयले दिएको आत्मीय स्वागत र प्रेरणाप्रति आभार व्यक्त गर्नुभयो।
समापन मन्तव्यका क्रममा विद्यालयका अध्यक्ष रबिन्द्रजंग थापाले रिलायन्स केवल परीक्षा उत्तीर्ण गराउने संस्था नभई विद्यार्थीका सपना पहिचान गरी त्यसलाई उपलब्धिमा रूपान्तरण गर्न मार्गदर्शन गर्ने शिक्षालय भएको बताउनुभयो। उहाँले भन्नुभयो, “आज यहाँ उपस्थित प्रत्येक विद्यार्थीभित्र असाधारण सम्भावना लुकेको छ। रिलायन्सले त्यो सम्भावनालाई उजागर गर्ने वातावरण, अवसर र मार्गदर्शन प्रदान गर्छ। मेहनत, अनुशासन र सही दृष्टिकोणलाई साथ दिन सक्नुभयो भने यहाँबाट निस्कने हरेक विद्यार्थी आफ्नो क्षेत्रको नेतृत्व गर्न सक्षम बन्नेछ।”


उहाँले विद्यार्थीलाई सकारात्मक सोच, उच्च लक्ष्य र निरन्तर सिकाइको संस्कार अपनाउन आग्रह गर्दै विद्यालयले शैक्षिक उपलब्धिसँगै असल चरित्र, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमताको विकासमा विशेष जोड दिँदै आएको उल्लेख गर्नुभयो।
नयाँ शैक्षिक यात्राको सुरुवातसँगै आयोजित २४औँ ओरियन्टेसन कार्यक्रमले नवप्रवेशी विद्यार्थीहरूलाई विद्यालयको संस्कृति, शैक्षिक वातावरण, अवसर तथा अपेक्षाबारे स्पष्ट मार्गदर्शन प्रदान गर्नुका साथै आगामी दिनका लागि उत्साह, आत्मविश्वास र प्रेरणा जगाएको सहभागीहरूले बताएका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार