२०८३ असार ५ शुक्रबार
नेपाली समय

वर्षायाममा धमिलो पानीको समस्या समाधान खोज्दै पबन नगर खानेपानी उपभोक्ता संस्थाद्वारा मुहान अवलोकन तथा अन्तरक्रिया

७ दिन अगाडि

वर्षायाममा धमिलो पानीको समस्या समाधान खोज्दै पबन नगर खानेपानी उपभोक्ता संस्थाद्वारा मुहान अवलोकन तथा अन्तरक्रिया

Advertisement 1


काठमाडौं । पबन नगर खानेपानी उपभोक्ता संस्थाले खानेपानीको स्रोत (मुहान) को अवस्था, पानीको गुणस्तर तथा वर्षायाममा उपभोक्ताले भोग्दै आएको समस्याबारे स्थलगत अध्ययन गर्न मुहान अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा खेमराज ओली, निर्मल आचार्य, संस्थाका अध्यक्ष, पदाधिकारी, सदस्य, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले मुहान क्षेत्रको अवलोकन गर्दै खानेपानी स्रोत संरक्षण, वितरण प्रणालीको अवस्था तथा वर्षायाममा देखिने चुनौतीबारे विस्तृत छलफल गरेका थिए।


अवलोकनका क्रममा विशेषगरी वर्षाको समयमा मुहानमा माटो, लेदो तथा अन्य फोहोर मिसिँदा उपभोक्ताले धमिलो पानी प्रयोग गर्नुपर्ने अवस्था सिर्जना हुने विषय प्रमुख रूपमा उठाइएको थियो। सहभागीहरूले यस समस्याको दीर्घकालीन समाधानका लागि मुहान संरक्षण र पानी प्रशोधन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
छलफलमा बोल्दै खेमराज ओलीले स्वच्छ तथा सुरक्षित खानेपानी नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै मुहान संरक्षण, आधुनिक पानी प्रशोधन प्रणालीको विकास तथा दीर्घकालीन योजनामार्फत समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय तह, उपभोक्ता संस्था र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी निर्मल आचार्यले खानेपानीको गुणस्तर सुधारका लागि सामुदायिक सहभागिता, वातावरण संरक्षण तथा मुहान क्षेत्रको नियमित निगरानीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले स्रोत संरक्षणबिना गुणस्तरीय खानेपानी सेवा दीगो हुन नसक्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूले वर्षायाममा पानी धमिलो हुने समस्या समाधानका लागि मुहान संरक्षण अभियानलाई तीव्रता दिने, सेडिमेन्टेसन ट्यांकी निर्माण गर्ने, फिल्टर प्रणालीको स्तरोन्नति गर्ने तथा वितरण सञ्जालको नियमित मर्मत–सम्भारलाई प्राथमिकतामा राखिने जानकारी दिएका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले उपभोक्तालाई स्वच्छ, सुरक्षित र नियमित खानेपानी उपलब्ध गराउने लक्ष्यसहित सम्बन्धित निकायहरूबीच सहकार्य बढाउने, आवश्यक स्रोत–साधन व्यवस्थापन गर्ने तथा दीर्घकालीन सुधार योजना कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, वर्षायाममा धमिलो पानी पिउनुपर्ने बाध्यताको अन्त्य गरी गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

धेरै पढिएको

सम्बन्धित समाचार