स्थानीय ऊन उत्पादन अभावले नेपाली फेल्ट उद्योग संकटमा
Advertisement 1
काठमाडौं, असार ४, २०८३

Advertisement 2
नेपालको प्रमुख निर्यातमुखी उद्योगमध्ये एक नेपाली फेल्ट उद्योग कच्चा पदार्थका लागि विदेशी ऊनमा अत्यधिक निर्भर रहँदा भविष्यमा चुनौती बढ्ने संकेत देखिएको छ। नेपाल फेल्ट उत्पादक तथा निर्यातक संघका निवर्तमान अध्यक्ष अमृत खड्काद्वारा तयार पारिएको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो।
अमेरिका, युरोप र जापानलगायतका विकसित मुलुकमा नेपाली फेल्ट उत्पादन निर्यात हुँदै आएको छ। यस उद्योगले हजारौं महिला तथा युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको भए पनि उत्पादनका लागि आवश्यक अधिकांश ऊन न्यूजिल्यान्डबाट आयात गर्नुपर्ने अवस्था रहेको अध्ययनमा उल्लेख गरिएको छ।
Advertisement 3
नेपालका हिमाली क्षेत्रहरूमा भेडापालनको पर्याप्त सम्भावना भए पनि स्थानीय भेडाबाट कम मात्रामा ऊन उत्पादन हुने, आधुनिक प्रशोधन प्रविधिको अभाव तथा भेडाको मासुको कमजोर बजारका कारण किसानहरू भेडापालनबाट विमुख हुँदै गएको बताइएको छ।
अध्ययनअनुसार स्थानीय ऊनको व्यवस्थित संकलन र प्रशोधन गर्न सके प्रतिकिलो २२० देखि ३५० रुपैयाँसम्म लागत बचत हुनुका साथै उद्योगको नाफा २५ देखि ३५ प्रतिशतसम्म वृद्धि हुन सक्ने देखिएको छ।
यसका लागि उन्नत जातका भेडाको विकास, ऊनको न्यूनतम समर्थन मूल्य निर्धारण, हिमाली जिल्लाहरूमा आधुनिक ऊन प्रशोधन केन्द्र स्थापना तथा भेडाको मासुसम्बन्धी सामाजिक भ्रम हटाउनुपर्ने सुझाव अध्ययनले दिएको छ।
त्यस्तै, न्यूजिल्यान्डमा कार्बन खेती विस्तार र भेडाको संख्या घट्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा ऊनको मूल्य अझ महँगो हुन सक्ने चेतावनी पनि अध्ययनले दिएको छ।
विशेषज्ञहरूका अनुसार स्थानीय उत्पादन र प्रशोधनमा लगानी बढाउन सके नेपाली फेल्ट उद्योगलाई कच्चा पदार्थमा आत्मनिर्भर बनाउनुका साथै हिमाली किसानहरूको आयस्तर वृद्धि गर्न र निर्यात क्षेत्रलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन सकिनेछ।



प्रतिक्रिया दिनुहोस्