बागमती प्रदेशस्तरीय टोली छनोटको आधार बन्दै ८औँ सिन्धुपाल्चोक जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता, ७ टोलीबीच कडा प्रतिस्पर्धा
Advertisement 1

काठमाडौं । पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको सहकार्यमा ८औँ सिन्धुपाल्चोक जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता काठमाडौंस्थित मूलपानी क्रिकेट रंगशालामा भव्य रूपमा सुरु भएको छ। असार २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले जिल्लाभित्र क्रिकेट खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा बागमती प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने महत्वपूर्ण आधारका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।

जिल्लाका विभिन्न स्थानीय तहका ७ टोली सहभागी रहेको प्रतियोगिताको उद्घाटन पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष लामाले खेलकुदले युवालाई अनुशासित, जिम्मेवार र स्वस्थ नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै गाउँपालिकाले क्रिकेटसहित अन्य खेलकुदको विकासमा निरन्तर लगानी र सहयोग गर्दै आएको उल्लेख गरे।
“यस्ता प्रतियोगिताले जिल्लाभित्र रहेका प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिनुका साथै राष्ट्रिय स्तरसम्म पुग्ने आधार तयार गर्छ। स्थानीय स्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्दै प्रदेश र राष्ट्रिय टोलीसम्म पुर्याउन यस्ता प्रतियोगिताको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ,” उनले भने।
Advertisement 2

प्रतियोगिताको उद्घाटन खेल हेलम्बु गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका बीच सम्पन्न भएको थियो। हेलम्बुले दिएको १२८ रनको लक्ष्य पछ्याएको चौतारा साँगाचोकगढी नगरपालिका ५७ रनमै अलआउट भएपछि हेलम्बुले शानदार जित दर्ता गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
कार्यक्रममा विशेष अतिथिका रूपमा मेलम्ची नगरपालिकाकी उपमेयर उमा प्रधान, बागमती खेलकुद विकास परिषद्का बोर्ड सदस्य राजन धिताल तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघका अध्यक्ष विजय धिताल उपस्थित थिए।

उनीहरूले सिन्धुपाल्चोकमा क्रिकेटप्रति युवाको आकर्षण निरन्तर बढ्दै गएको उल्लेख गर्दै जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। विशेष गरी यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई आगामी बागमती प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट गरिने भएकाले सहभागी खेलाडीका लागि यो प्रतियोगिता थप महत्वपूर्ण बनेको उनीहरूको भनाइ थियो।
सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघका अध्यक्ष विजय धितालले जिल्लाको क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको बताउँदै यसबाट उत्कृष्ट खेलाडी पहिचान गरी प्रदेशस्तरीय प्रतियोगितामा प्रतिनिधित्व गराउने तयारी गरिएको जानकारी दिए।
आयोजकका अनुसार प्रतियोगिता अवधिभर विभिन्न प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन हुनेछन्। उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर तथा विजेता र उपविजेता टोलीलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ। जिल्लाका विभिन्न पालिकाबाट आएका टोलीबीचको प्रतिस्पर्धाले क्रिकेटप्रेमी दर्शकमाझ उत्साह थपेको छ।
सिन्धुपाल्चोकमा क्रिकेटको बढ्दो लोकप्रियतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको यस प्रतियोगिताले जिल्लाभित्रका उदाउँदा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको छ। साथै, यही प्रतियोगिताबाट छनोट हुने प्रतिभावान खेलाडीहरूले बागमती प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्ने भएकाले प्रतियोगिता केवल उपाधिको लडाइँ मात्र नभई भविष्यका क्रिकेट स्टार जन्माउने अवसरका रूपमा समेत हेरिएको छ।



प्रतिक्रिया दिनुहोस्