२०८३ जेष्ठ ३० शनिबार
नेपाली समय

पाँच विद्यार्थीको 4.0 GPA, बालसंसार सेकेन्डरी स्कुल र प्रिन्सिपल तेज राईलाई गोकर्णेश्वर नगरपालिकाद्वारा सम्मानित

३ हप्ता अगाडि

SEE Batch 2082 मा बालसंसार सेकेन्डरी स्कुलको गौरवपूर्ण सफलता : 4.0 GPA ल्याउने पाँच विद्यार्थीसहित प्रिन्सिपल तेज राईलाई नगरपालिकाको विशेष सम्मान

Advertisement 1


काठमाडौं । SEE Batch 2082 मा उत्कृष्ट नतिजा हासिल गर्दै 4.0 GPA प्राप्त गर्न सफल बालसंसार सेकेन्डरी स्कुलका पाँच जना विद्यार्थी, विद्यालय तथा विद्यालयका प्रिन्सिपल तेज राईलाई नगरपालिकाले विशेष सम्मान गरेको छ। उत्कृष्ट शैक्षिक उपलब्धिमार्फत विद्यालयले शिक्षा क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै नगरपालिकाले विशेष सम्मान कार्यक्रम आयोजना गरेको हो।


यस वर्ष विद्यालयबाट SEE परीक्षामा सहभागी कुल ३९ जना विद्यार्थीमध्ये ग्याल्मु शेर्पा, गरिमा सेढाई, आस्था राई, सलोमी बुढाथोकी र आइस्था श्रेष्ठले 4.0 GPA हासिल गर्दै विद्यालयलाई गौरवान्वित बनाएका हुन्। विद्यार्थीहरूको उत्कृष्ट नतिजा, अनुशासित शैक्षिक वातावरण तथा गुणस्तरीय शिक्षामा विद्यालयले पुर्‍याउँदै आएको योगदानको कदर गर्दै नगरपालिकाले विद्यालय परिवारलाई सम्मान प्रदान गरेको जनाएको छ।


नगरपालिकाद्वारा आयोजित विशेष सम्मान कार्यक्रममा उत्कृष्ट GPA ल्याउने विद्यार्थीहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो भने विद्यालयलाई सफलतापूर्वक नेतृत्व गर्दै उत्कृष्ट नतिजा दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रिन्सिपल तेज राईलाई पनि विशेष सम्मान गरिएको थियो। कार्यक्रममा विद्यालयले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरिएको थियो।
सम्मान कार्यक्रममा बोल्दै प्रिन्सिपल तेज राईले विद्यालयको सफलता सामूहिक मेहनत, अनुशासन र समर्पणको परिणाम भएको बताउनुभयो।

उहाँले भन्नुभयो,
“विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वासकै कारण आज हामीले यो गौरवपूर्ण सफलता हासिल गरेका हौं। 4.0 GPA ल्याउने विद्यार्थीहरू सम्पूर्ण विद्यालय परिवारका प्रेरणाका स्रोत हुन्। यो सम्मानले आगामी दिनमा अझ उत्कृष्ट ढंगले काम गर्ने ऊर्जा र हौसला दिएको छ।”
उहाँले बालसंसार सेकेन्डरी स्कुलले केवल शैक्षिक नतिजामा मात्र नभई विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र नैतिक शिक्षामा पनि विशेष ध्यान दिँदै आएको उल्लेख गर्नुभयो। “हाम्रो उद्देश्य केवल राम्रो GPA ल्याउनु होइन, असल, जिम्मेवार र सक्षम नागरिक तयार गर्नु पनि हो,” उहाँको भनाइ थियो।

Advertisement 3


विद्यालय परिवारले विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षक–शिक्षिकाहरूको अथक योगदान तथा अभिभावकहरूको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै विद्यालयको उपलब्धिलाई उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरेकोमा नगरपालिकाप्रति विशेष आभारसमेत प्रकट गरिएको विद्यालयले जनाएको छ।
बालसंसार सेकेन्डरी स्कुलले आगामी वर्षहरूमा पनि गुणस्तरीय, प्रविधिमैत्री तथा विद्यार्थीकेन्द्रित शिक्षालाई प्राथमिकतामा राख्दै अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार