काठमाडौंमा कर तथा लेखा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न, व्यवसाय सशक्तिकरणमा संघको पहल
Advertisement 1

काठमाडौं, साउन १७ – काठमाडौं विद्युतीय व्यवसायी संघ (Kathmandu Electrical Entrepreneurs Association) को आयोजनामा कर तथा लेखा व्यवस्थापनसम्बन्धी एक दिवसीय प्रशिक्षण कार्यक्रम तथा एरिया कमिटी विस्तार कार्यक्रम आज शनिबार काठमाडौंको सामाखुसीमा सम्पन्न भएको छ।
Advertisement 2
कार्यक्रमको मूल उद्देश्य व्यवसायीहरूलाई हालको कर प्रणाली, लेखा व्यवस्थापनका विधि, VAT, TDS, बिलिङ प्रणाली तथा सरकारी कर नीतिबारे व्यवहारिक जानकारी प्रदान गर्नु थियो। संघका अनुसार साना तथा मझौला उद्यमीहरूलाई लक्षित गर्दै आयोजना गरिएको यस प्रशिक्षणले व्यवसाय सञ्चालनमा देखिने व्यवहारिक समस्याहरू समाधान गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रमको उद्घाटन तथा अध्यक्ष सिवाकोटीको भनाइ
कार्यक्रमको औपचारिक उद्घाटन संघका अध्यक्ष मिलन सिवाकोटीले गर्नुभयो। उहाँले उद्घाटन सत्रमा भन्नुभयो “आजको प्रशिक्षण कार्यक्रम केवल जानकारी दिने प्रयत्न होइन, व्यवसायीहरूलाई दीर्घकालीन रुपमा सक्षम बनाउने अभ्यास हो। लेखा पारदर्शिता, कर सम्बन्धी स्पष्टता, र व्यवसायमा कानुनी अनुशासन कायम राख्न यस्ता कार्यक्रम अपरिहार्य छन्।”
प्रशिक्षकबाट व्यवहारिक प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा आमन्त्रण गरिएका बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट राजन सिवाकोटीले व्यावसायिक लेखा प्रणाली, TDS/VAT को सही कार्यान्वयन, बिलिङ प्रक्रिया, कर विवरण बुझाउने समयसीमा तथा कानुनी दायित्वबारे विस्तृत रूपमा प्रशिक्षण दिनुभयो।
Advertisement 3
उहाँले प्रशिक्षणमा सहभागीहरूसँग अन्तरक्रियात्मक शैलीमा प्रशिक्षण दिँदै भने – “नेपालमा कर नीतिहरू वर्षेनि परिवर्तन भइरहेका छन्। व्यवसायीहरूले अद्यावधिक जानकारी नपाउँदा अनावश्यक समस्या भोग्नुपरेको देखिन्छ। आजको कार्यक्रम यस्तो समस्यालाई समाधान गर्न ठोस अभ्यास बनेको छ।”

व्यवसायीहरूको अनुभव : “थोरै समयमै धेरै कुरा बुझ्न पाइयो”
कार्यक्रममा सहभागी व्यवसायीहरूले पनि यस्ता कार्यक्रम अत्यन्तै आवश्यक रहेको बताएका छन्। व्यवसायी मिलन बस्नेतले प्रतिक्रिया दिँदै भने – “हामीले दैनिक कारोबारमा सामना गर्ने करसम्बन्धी प्रश्नहरूको स्पष्ट उत्तर पाइयो। लेखा व्यवस्थापनको नयाँ तरिका सिक्न पाइयो, जुन व्यवहारिक छ।” त्यस्तै अर्का सहभागी व्यवसायी टोटल इलोक्ट्रोनिक्स सप्लायर्सका संचालक केशव खड्काले आफ्नो अनुभव यसरी साझा गर्नुभयो “सामान्यतया लेखा र कर सम्बन्धी विषयहरू जटिल लाग्थ्यो। तर आजको प्रशिक्षणले बुझ्न सजिलो बनायो। कानुनी हिसाबले व्यवसाय कसरी दर्ता, बिलिङ, कर विवरण बुझाउने भन्ने स्पष्ट भयो। यस्ता कार्यक्रम निरन्तर भइरहे व्यवसायमा धेरै सुधार आउँछ।”
एरिया कमिटी विस्तार – संघको संगठनात्मक सुदृढीकरण
कार्यक्रमको दोस्रो चरणमा संघको पन्ध्रौं वार्षिक साधारण सभाबाट पारित योजनाअनुसार संघको कार्यक्षेत्रलाई तीनवटा भौगोलिक क्षेत्रमा विभाजन गर्दै एरिया कमिटीहरू विस्तार गरियो।
संघले यस कमिटी विस्तारलाई स्थानीय व्यवसायीहरूसँग प्रत्यक्ष सहकार्य गर्ने माध्यमको रूपमा लिएको छ। मनोनित सदस्यहरूलाई स्वागत गर्दै, संघले ती समितिहरूबाट व्यवसायी हितमा तदारुक कार्य सम्पादन हुने विश्वास व्यक्त गरेको छ।

समापन र संघको प्रतिबद्धता
कार्यक्रमको अन्त्यमा संघका पदाधिकारीहरूले सहभागीहरूप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमलाई नियमितता दिँदै अझ व्यावसायिक, कानुनी र वित्तीय पक्षमा सदस्यहरूलाई सशक्त बनाउने प्रतिबद्धता जनाए।
अध्यक्ष मिलन सिवाकोटीले समापन मन्तव्यमा भने – “संघ केवल आवाज उठाउने संस्था मात्र होइन, सदस्यहरूलाई ज्ञान, सीप र व्यवहारिक कौशल प्रदान गर्ने प्लेटफर्म हो। यस्ता कार्यक्रमले हामीलाई व्यवसायमा दीर्घकालीन स्थायित्व र पारदर्शिता दिन्छ।”

उत्साहपुर्ण उपस्थिति, विशेषज्ञ प्रशिक्षण र व्यवसायीहरूसँगको गहिरो संवादले आजको कार्यक्रम केवल प्रशिक्षणमा सीमित नभई व्यवसायिक सुधारको अभियानको थालनीको रूपमा स्थापित भएको छ।
संघले भविष्यमा पनि यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै सदस्यहरूको आवश्यकतालाई प्राथमिकतामा राख्ने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्