२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

खेलकूद

फिलिपिन्समा एशियाली संसदीय मञ्च : सांसद योगेश गौचन थकालीद्वारा नेपालको युवा आवाज बुलन्द

९ महिना अगाडि

फिलिपिन्समा एशियाली संसदीय मञ्चमा सांसद योगेश गौचन थकालीद्वारा नेपालको प्रतिनिधित्व

मनिला (फिलिपिन्स) । फिलिपिन्समा जारी एशियाली संसदीय मञ्च (Asian Parliamentary Forum on Population and Development – APFPD) मा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै मुस्ताङका सांसद योगेश गौचन थकालीले युवा पुस्ताको सशक्त आवाज बुलन्द गरेका छन्।

जनसंख्या र विकासका चुनौती तथा अवसरलाई सम्बोधन गर्न क्षेत्रीय स्तरमा सक्रिय यस मञ्चले सांसदहरू र राष्ट्रिय समितिहरूको क्षमता अभिवृद्धि गर्दै युवाहरूको भूमिकालाई प्रोत्साहन गर्दै आएको छ। सोही क्रममा नेपालका सांसद थकालीले नेपाली युवाको दृष्टिकोणलाई अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउने पहल गरेका हुन्।

नेपाल जनसंख्या तथा विकाससम्बन्धी ३० राष्ट्रिय संसदीय समितिहरूको समन्वयकारी निकायको सदस्य रहेको छ। उक्त समितिको तर्फबाट प्रतिनिधित्व गर्ने जिम्मेवारी थकालीले निर्वाह गर्दै आएका छन्। यस सहभागिताले नेपालको नीतिगत प्रतिबद्धता मात्र होइन, दिगो विकास लक्ष्य (SDGs) कार्यान्वयनमा युवाको सक्रियताको सन्देशलाई समेत स्पष्ट रूपमा प्रस्तुत गरेको छ।

यस वर्षको सम्मेलनमा जनसंख्या तथा विकास एजेन्डा, विशेषगरी अन्तर्राष्ट्रिय सम्मेलनको कार्ययोजना र दिगो विकास लक्ष्यहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न सांसदहरूको क्षेत्रीय सञ्जाललाई सुदृढ बनाउने विषय मुख्य एजेन्डा रहेको छ।

सांसद थकालीले सम्मेलनमा भने, “नेपालको भविष्य युवाको हातमा छ। नीति निर्माणदेखि कार्यान्वयनसम्म युवाको सहभागिता सुनिश्चित गर्नुपर्छ। दिगो विकास लक्ष्यहरूलाई सफल बनाउन युवा पुस्ताको नेतृत्व अपरिहार्य छ भन्ने सन्देश नेपालले विश्व समुदायलाई दिन चाहन्छ।”

क्षेत्रीय गैर-सरकारी संस्था APFPD ले एशिया–प्रशान्त क्षेत्रमा जनसंख्या र विकासका मुद्दाहरूमा संसदीय नेतृत्व र सहकार्यलाई प्रवर्द्धन गर्दै आएको छ। यस सन्दर्भमा सांसद थकालीको सक्रियताले नेपालको युवा नेतृत्वलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउनुका साथै क्षेत्रीय सहकार्यलाई बलियो बनाउन उल्लेख्य योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार