प्याब्सनको चौथो पूर्ण बैठक : विपद्मा परेका परिवारलाई सहयोग, दिगो राहत संरचना निर्माणतर्फ महत्वपूर्ण निर्णय

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को चौथो पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले हालैका प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूलाई आर्थिक सहयोग प्रदान गर्दै आगामी दिनमा दिगो राहत तथा सहयोग संरचना निर्माण गर्ने महत्वपूर्ण निर्णय गरेको छ।
गत भदौ महिनामा इलाम जिल्लामा आएको बाढी–पहिरोमा परी एक विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्याब्सनले मृत विद्यार्थीको परिवारलाई १ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ। त्यस्तै, ताप्लेजुङ जिल्लाका प्याब्सन अध्यक्षको असामयिक निधन भएपछि उहाँका परिवारलाई १ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको बैठकमा जानकारी गराइयो।
प्याब्सनको केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय विपद् व्यवस्थापन समितिका संयोजक रविन्स शर्माले विपद्को क्षणमा संस्थाले आफूले वहन गर्नुपर्ने जिम्मेवारी पूरा गरेको बताउँदै आगामी दिनमा सहयोग प्रणालीलाई अझ मजबुत बनाइने बताए।

उनी भन्छन्—
“प्याब्सन केवल शैक्षिक छाता संगठन मात्र होइन, संकट र विषम परिस्थितिमा विद्यालय, अभिभावक, विद्यार्थी तथा समुदायसँग सँगै उभिने परिवार हो। विपद्मा परेका सदस्यहरूको पीडा बाँड्न पाउनु हाम्रो कर्तव्य हो, र हामीले त्यो दायित्व पूरा गरेको महसुस गरेका छौँ।”
शर्माले देशभरका प्याब्सन–आबद्ध विद्यालयहरूलाई नियमित सदस्यता प्रणालीमार्फत दिगो विपद् सहयोग कोष निर्माणमा सहभागी हुन आग्रह गरे। उनले अहिले नै सुरु भएको संरचनाले विद्यालयमा आकस्मिक रोग, अप्ठ्यारो, असहज परिस्थिति वा कुनै ठूलो विपद् पर्दा
कम्तीमा ३ लाखदेखि अवस्था हेरी ७ लाख रुपैयाँसम्म सहयोग गर्न सकिने व्यवस्था सहमतिमा आएको बताए।
उनका अनुसार,
“अब कुनै विद्यालय, अभिभावक वा विद्यार्थीलाई अप्ठ्यारो पर्ला भनेर चिन्ता लिनु नपरोस्। प्याब्सनसँग जोडिएको हरेक परिवारलाई सुरक्षा कवच प्रदान गर्नु नै हाम्रो मुख्य उद्देश्य हो।”
बैठकमा उनीहरूले प्याब्सन केन्द्रीय विपद् व्यवस्थापन समिति विद्यालय परिवारभित्र मात्र सीमित नभई समाजमा पर्ने कुनै पनि खालको विपद्–विपत्तिमा राज्यका संयन्त्रसँग समन्वय गर्दै सहयोग गर्ने प्रतिबद्धता समेत दोहोर्याएको उल्लेख गरे।
चौथो पूर्ण बैठकले ल्याएको निर्णयले देशभरका निजी तथा आवासीय विद्यालयहरूबीच पारस्परिक सहयोग, सुरक्षाको भावना र संरचनात्मक तत्परता अनुसन्धान गर्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्