काठमाडौं, साउन ६ — नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकला राईले पार्टीको हालै चलिरहेको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै आउँदो ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली नै निर्विवाद रूपमा चयन हुने दाबी गरेकी छन्। उनले ओलीको विकल्प अहिले न पार्टीभित्र मात्रै न भई मुलुकमा नै नभएको स्पष्ट पारिन्।

राईले भनिन्, “पार्टीले ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा हटाइसकेको छ। अहिलेको अवस्थामा पार्टीलाई मात्रै होइन, देशलाई नै ओलीज्यूको आवश्यकता छ। उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध र मजबुत बन्नेछ।”
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले प्रवेश गराउनेबारे उठेका चर्चा र सम्भावनाप्रति राईले स्पष्ट असहमति जनाइन्। उनले भनिन्, “विद्या भण्डारी राष्ट्रको साझा प्रतीक हुनुहुन्छ। उहाँलाई कुनै पार्टीको गुट वा कित्तामा बाँध्नु उपयुक्त होइन। राष्ट्रपतिका रूपमा गरिमामय भूमिका निर्वाह गरिसकेकी विद्याजीलाई राजनीति फर्काउनु देशका लागि समेत उचित हुँदैन।”
राईले थप भनिन्, “केपी ओलीलाई नै न सोधि उहाँलाई राजनीति फर्काउने जस्ता प्रयास गलत हुन्। एमालेमा अहिले ओलीको नेतृत्व आवश्यक र अपरिहार्य छ।”
पार्टीभित्र सामाजिक सञ्जाल र सार्वजनिक अभिव्यक्तिमा देखिएको अनुशासनहीनता रोक्नुपर्ने धारणा राख्दै राईले पार्टीको अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्न माग गरिन्। “पार्टी र नेतृत्वबारे अनपेक्षित टिप्पणी गर्नेहरूलाई निगरानी र आवश्यक कारबाही हुनुपर्छ। अनुशासन र विधानको पालना सबैका लागि अनिवार्य छ,” उनले भनिन्।
उनले आजको आवश्यकता बलियो, एकताबद्ध र संगठित एमाले निर्माण गर्नु रहेको समेत प्रष्ट पारिन्। “ओलीकै नेतृत्वमा मात्रै एमालेलाई अर्को चरणमा लैजान सकिन्छ। त्यसैले अहिले विवाद होइन, एकताको खाँचो छ,” उनले जोड दिइन्।



प्रतिक्रिया दिनुहोस्