गोकर्णेश्वर लाइट एकेडेमीद्वारा “GLA Quiz Mania Season – 3” मङ्सिर २६ र २७ गते आयोजना हुने
देशव्यापी अन्तर–विद्यालयीय क्विज प्रतियोगिता भव्य रूपमा सञ्चालन हुने तयारी

काठमाडौँ, मङ्सिर — गोकर्णेश्वर लाइट एकेडेमीले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत आयोजना गर्दै आएको अन्तर–विद्यालयीय क्विज प्रतियोगिता “GLA Quiz Mania Season – 3” आगामी मङ्सिर २६ र २७ गते आयोजना गर्ने भएको छ। विद्यालयले यस वर्षको संस्करणलाई अत्याधुनिक प्रविधिको प्रयोगसहित अझ आकर्षक र प्रतिस्पर्धात्मक बनाउने तयारी गरेको जनाएको छ।
गत दुई सिजन अत्यन्त सफल र व्यवस्थित रूपमा सम्पन्न भइसकेको यस प्रतियोगितामा यसपटक पनि देशभरका उत्कृष्ट विद्यालयहरूको सहभागिता रहने विद्यालयले जनाएको छ। प्रतियोगितामा केवल ३६ टिमलाई मात्र सहभागी गराइनेछ। सुरुमा दर्ता हुने ३६ टिमलाई प्राथमिकता दिइने र ती टिमहरूलाई ६ समूहमा विभाजन गरी समूह चरणको प्रतिस्पर्धा सञ्चालन गरिनेछ।
प्रत्येक समूहबाट दुई–दुई विद्यालय छनोट भई दोस्रो चरणमा प्रवेश गर्ने र त्यसपछि पुनः दुई समूहमा विभाजन गरी फाइनल चरणमा जम्मा ६ विद्यालय प्रवेश गर्ने व्यवस्था गरिएको छ।
फाइनल चरणमा प्रवेश गरेका सबै विद्यालयका टिमलाई सिल्ड र मेडल प्रदान गरिनेछ। साथै, प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमहरूले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्।
कार्यक्रम संयोजक सञ्जय खनालका अनुसार, “यस वर्ष विद्यार्थीहरूले डिजिटल प्रविधि र प्रतिस्पर्धात्मक सोचको उत्कृष्ट संयोजन अनुभव गर्ने अवसर पाउनेछन्, जसले उनीहरूको ज्ञान र प्रस्तुतिको स्तर अझ उचो बनाउनेछ।”
त्यस्तै अतिरिक्त क्रियाकलाप प्रमुख राज घिमिरेले कार्यक्रमले विभिन्न विद्यालयबिच मैत्रीपूर्ण सम्बन्ध, प्रतिस्पर्धात्मक भावना र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानाध्यापक सौर्यनाथ आचार्यले जोड दिँदै भन्नुभयो , “GLA Quiz Mania विद्यालयको शैक्षिक पहिचान, अनुशासन र सृजनशीलताको परिचायक बनेको छ। यस वर्षको तेस्रो संस्करण अझ सृजनशील, व्यवस्थित र प्रेरणादायी हुनेमा हामी पूर्ण विश्वास राख्छौँ,।” उहाँले यस संस्करणमा सहभागिता जनाउने विद्यालयहरूलाई अग्रिम शुभकामनासमेत व्यक्त गर्नुभयो।
टिम दर्ताको अन्तिम म्याद मङ्सिर १९ गते, शुक्रवार तोकिएको छ।दर्ता नभएका वा म्यादपछि आएका टिमलाई प्रतियोगितामा सहभागी नगराइने विद्यालयले स्पष्ट पारेको छ।
त्यस्तै, आयोजक विद्यालय स्वयं प्रतियोगितामा सहभागी नहुने जनाइएको छ।
विद्यालय प्रशासनका अनुसार, “GLA Quiz Mania Season – 3” देशभरका विद्यार्थीहरूका लागि ज्ञान, प्रविधि र प्रतिस्पर्धाको संगम बन्नेछ। प्रतियोगिताले विद्यार्थीहरूमा सृजनशील सोच, बौद्धिक चेतना र राष्ट्रिय स्तरको प्रतिस्पर्धी भावना विकास गर्ने विद्यालयको विश्वास छ।



प्रतिक्रिया दिनुहोस्