२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

शिक्षा

प्रधानमन्त्री ओलीको आलोचना र रवि लामिछानेको प्रशंसा गर्ने टिकटकर पक्राउ

१२ महिना अगाडि

 

सरकार आलोचकप्रति आक्रामक: टिकटकमा ओलीको आलोचना गरेकै कारण रमा बस्नेत पक्राउ

काठमाडौं, असार २–
सत्तापक्ष र प्रधानमन्त्रीविरुद्धको आलोचना अब आपराधिक हुने संकेत स्पष्ट देखिन थालेको छ। सामाजिक सञ्जाल टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित आलोचना गर्दै आएकी रमा बस्नेतलाई प्रहरीले साइबर अपराधको आरोपमा आइतबार पक्राउ गरेको छ।

खोटाङ स्थायी घर भई हाल भक्तपुर बसोबास गर्दै आएकी बस्नेत टिकटकमार्फत चर्चित रहेकी थिइन्। उनले पछिल्ला भिडियोहरूमा प्रधानमन्त्री ओलीमाथि धारिलो टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको खुलेर प्रशंसा गरेकी थिइन्।

प्रहरीको साइबर ब्युरोले उनलाई “प्रतिष्ठित व्यक्ति र संस्थामाथि नियोजित ढंगले चरित्रहत्या गर्ने प्रयोजन”मा पक्राउ गरिएको दाबी गरेको छ। ब्युरोको प्रेस विज्ञप्तिमा भनिएको छ, “तथ्य र आधारविहीन सामग्री प्रकाशन–प्रसारण गरी व्यक्तित्व, संस्था वा सम्प्रदायप्रति नकारात्मक धारणा फैलाइएको छ।”

सूत्रहरूका अनुसार गृह मन्त्रालयकै निर्देशनमा बस्नेतलाई पक्राउ गरिएको हो।

यो कुनै एकल घटना होइन। यसअघि अधिवक्ता सुजित केसीलाई पनि सत्ता निकटका व्यक्तिका लगानीबारे छानबिनको माग गरेको भन्दै पक्राउ गरिएको थियो। केसीले फेसबुकमा लेखेको स्टाटस मेटाए पनि उनलाई साइबर अपराधको आरोपमा मुद्दा लगाइएको थियो।

यस्ता घटनाहरूले सरकार आलोचनाप्रति असहिष्णु हुँदै गएको आभास दिन थालेको छ। विशेषगरी सामाजिक सञ्जाल तथा वैकल्पिक मिडिया प्लेटफर्ममा सरकार र सत्ताधारी नेताहरूमाथि आवाज उठाउनेहरूलाई ‘साइबर अपराध’को नाममा थुनिएको थुप्रै उदाहरणहरू देखिन थालेका छन्।

प्रश्न उठिरहेको छ— के अब डिजिटल माध्यममा आलोचना गर्नु पनि अपराध हो? सरकारको यस्ता कदमले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक मूल्यमै आँच पुर्‍याउने खतरा बढ्दै गएको प्रष्ट देखिन्छ।

 

धेरै पढिएको

सम्बन्धित समाचार