२०८३ जेष्ठ २१ बिहीबार
नेपाली समय

शिक्षा

त्रिभुवन विश्वविद्यालयका समस्या समाधानमा देउवालाई पब्लिक क्याम्पस सङ्घको ध्यानाकर्षण

१० महिना अगाडि

नेपाल पब्लिक क्याम्पस सङ्घको टोलीद्वारा शेरबहादुर देउवासँग भेटघाट, सरोकारका मुद्दा कार्यान्वयनमा जोड

काठमाडौं, साउन ३१ — नेपाल पब्लिक क्याम्पस सङ्घले आफ्ना निरन्तर उठाउँदै आएका सरोकारका मुद्दा कार्यान्वयनका लागि पहल गर्ने उद्देश्यले शनिबार पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट तथा अन्तरक्रिया गरेको छ।

सङ्घका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताको नेतृत्वमा भएको उक्त भेटघाटमा त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) ले विषय तथा कार्यक्रम सम्बन्धन खोल्नुपर्ने, स्तरनिर्धारण कार्यान्वयनका लागि कार्यदल गठन गर्नुपर्ने, क्याम्पसका जग्गाको भोगाधिकार सुनिश्चित गर्ने, विश्वविद्यालय अनुदान आयोग (यूजिजि) को सदस्य–सचिव नियुक्ति लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।

अध्यक्ष गुप्ताले भने, “नेपाल पब्लिक क्याम्पस सङ्घले लामो समयदेखि उठाउँदै आएका मागहरू कार्यान्वयनको चरणमा पुर्‍याउनुपर्ने आवश्यकता आजको छलफलमा पनि स्पष्ट भएको छ। विद्यार्थी तथा समुदायसँग प्रत्यक्ष सम्बन्धित विषयमा ढिलाइ हुनु शिक्षा क्षेत्रमा प्रतिकूल प्रभाव पारिरहेको छ, त्यसैले तत्काल समाधान गर्नुपर्नेमा हामीले जोड दिएका छौँ।”

अन्तरक्रियाको क्रममा त्रि.वि. का विषय तथा कार्यक्रम सम्बन्धनबारे तत्कालै विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्याललाई सम्पर्क गरी संयुक्त छलफल गरिएको थियो। उक्त छलफलमा आउँदो बुधबारभित्र सम्बन्धन खोल्ने प्रतिबद्धता गरिएको सङ्घले जनाएको छ।

यस्तै, स्तरनिर्धारण कार्यान्वयनका लागि शिक्षा मन्त्रीको ध्यानाकर्षण गराइएको छ भने त्रि.वि. पदाधिकारीले कार्यकक्षमै बसेर काम गर्न नसक्ने परिस्थिति समाधान गर्नुपर्ने विषय पनि जोडदार रूपमा उठाइएको थियो।

सङ्घले आफ्नो अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार