पाँचपोखरी थाङपालमा नमुना संसद : लोकतान्त्रिक अभ्यासमार्फत नेतृत्व विकास
Advertisement 1

पाँचपोखरी थाङपाल, सिन्धुपाल्चोक | २२ जेठ २०८३
लोकतान्त्रिक संस्कार, नेतृत्व विकास तथा संसदीय प्रक्रियाप्रति विद्यार्थीहरूको बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले पाँचपोखरी थाङपाल गाउँपालिकाले आयोजना गरेको नमुना संसद कार्यक्रम गाउँपालिकाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको यो कार्यक्रम लगातार तेस्रो वर्ष आयोजना गरिएको हो।

कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका करिब ९० जना विद्यार्थीहरूले प्रत्यक्ष रूपमा सांसद, सभामुख, मन्त्री तथा प्रतिपक्षी दलका भूमिकामा रहेर संसदीय अभ्यास प्रस्तुत गरेका थिए। उनीहरूले प्रश्नोत्तर, नीति बहस, प्रस्ताव दर्ता तथा निर्णय प्रक्रियाजस्ता गतिविधिमार्फत नेपालको संसदीय व्यवस्थाको जीवन्त अभ्यास गरेका थिए।
Advertisement 2

विद्यार्थीहरूका अतिरिक्त विभिन्न विद्यालयका शिक्षक, सामाजिक व्यक्तित्व, बुद्धिजीवी, अभिभावक तथा स्थानीयवासी गरी करिब २०० जनाको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूको उत्साहले सभाहल दिनभर लोकतान्त्रिक बहस र छलफलले भरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टासी लामा ले नमुना संसदले विद्यार्थीहरूमा नेतृत्व क्षमता र उत्तरदायित्वबोध विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, “शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुनुहुँदैन। विद्यार्थीले व्यवहारिक रूपमा सिक्ने अवसर पाउनुपर्छ। नमुना संसदले उनीहरूलाई लोकतन्त्रको अभ्यास मात्र होइन, समाज र राष्ट्रप्रति जिम्मेवार नागरिक बन्ने प्रेरणा पनि दिन्छ। गाउँपालिकाले युवाहरूको क्षमता विकासका यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानेछ।”

कार्यक्रमका अध्यक्षले आफ्नो सम्बोधनमा तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको नमुना संसद गाउँपालिकाको पहिचान बन्दै गएको उल्लेख गरे। उनले विद्यार्थीहरूलाई अवसर प्रदान गर्नु नै भविष्य निर्माणको आधार भएको बताउँदै शिक्षासँगै नेतृत्व विकासलाई पनि स्थानीय सरकारले समान महत्व दिएको स्पष्ट पारे।
कार्यक्रममा उपस्थित शिक्षक, बुद्धिजीवी तथा सामाजिक अगुवाहरूले विद्यार्थीहरूमा सार्वजनिक बोल्ने कला, निर्णय क्षमता, आत्मविश्वास तथा लोकतान्त्रिक चेतना विकास गर्न नमुना संसद प्रभावकारी माध्यम बनेको धारणा व्यक्त गरेका थिए। सहभागी विद्यार्थीहरूले पनि प्रत्यक्ष संसदीय अभ्यासबाट नयाँ ज्ञान र अनुभव प्राप्त भएको बताएका थिए।
Advertisement 3

स्थानीय तहमा लोकतान्त्रिक संस्कार र सक्षम नेतृत्व निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यो कार्यक्रमले पाँचपोखरी थाङपाल गाउँपालिकाको शैक्षिक तथा युवा विकास अभियानलाई थप सशक्त बनाएको सहभागीहरूको निष्कर्ष रहेको थियो।



प्रतिक्रिया दिनुहोस्