विश्व वातावरण दिवसमा जया मल्टिपल क्याम्पस र मनकामना माध्यमिक विद्यालयको विशेष कार्यक्रम सम्पन्न
Advertisement 1

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा जया मल्टिपल क्याम्पस र मनकामना माध्यमिक विद्यालयले संयुक्त रूपमा विशेष सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्। वातावरण संरक्षण, सरसफाइ तथा हरियाली प्रवर्द्धनको सन्देश दिने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सामाजिक व्यक्तित्वहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमअन्तर्गत विद्यालय तथा क्याम्पस परिसरमा सरसफाइ अभियान सञ्चालन गरिनुका साथै वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको थियो। विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी सन्देश लेखिएका प्लेकार्डसहित सहभागिता जनाउँदै स्वच्छ वातावरण निर्माणमा सबैको भूमिका महत्वपूर्ण रहने सन्देश दिएका थिए। कार्यक्रमभर विद्यार्थीहरूको उल्लासमय उपस्थिति र सक्रिय सहभागिताले वातावरणीय चेतनाप्रति उनीहरूको प्रतिबद्धता झल्काएको थियो।

यस अवसरमा बोल्दै जया मल्टिपल क्याम्पसका प्रमुख भवानीप्रसाद पौडेल ले वातावरण संरक्षण आजको सबैभन्दा महत्वपूर्ण सामाजिक दायित्व भएको बताए। उनले भने, “हामीले प्रकृतिबाट धेरै लिएका छौं, अब त्यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रो हो। शिक्षण संस्थाले विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र नभई वातावरणप्रतिको उत्तरदायित्वसमेत सिकाउनुपर्छ। आजका विद्यार्थी नै भोलिका जिम्मेवार नागरिक हुन्।”
कार्यक्रममा सहभागी शिक्षकहरूले वातावरणीय शिक्षा व्यवहारमा उतार्न यस्ता गतिविधि आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले विद्यालय स्तरदेखि नै वातावरण संरक्षणको संस्कार विकास गर्न सके भविष्यमा सकारात्मक परिवर्तन सम्भव हुने बताए।
स्थानीय सामाजिक व्यक्तित्वहरूले पनि वातावरण संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका थिए। उनीहरूले युवा पुस्तामा देखिएको वातावरणप्रतिको जागरणले आशा जगाएको प्रतिक्रिया दिए।
Advertisement 2

कार्यक्रमको अन्त्यमा सहभागीहरूले वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा वृक्षारोपणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। जया मल्टिपल क्याम्पस र मनकामना माध्यमिक विद्यालयद्वारा आयोजित यो कार्यक्रमले विश्व वातावरण दिवसलाई औपचारिकतामा सीमित नराखी व्यवहारिक सन्देशसहित मनाउने सफल प्रयास गरेको सहभागीहरूको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस्