कार्यान्वयनमा प्रभावकारिता र जवाफदेहिताको खाँचो : जय मल्टिपल क्याम्पसमा बजेटमाथि अन्तरक्रियात्मक छलफल
Advertisement 1

काठमाडौं, जेठ १९ – आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि त्यसका विविध पक्ष, प्राथमिकता, चुनौती र सम्भावनाबारे बहस तथा विमर्श भइरहेका बेला जय मल्टिपल क्याम्पस, माकलबारी–गोकर्णेश्वरमा अध्ययनरत बीबीएस दोस्रो वर्षका विद्यार्थीहरूले बजेटमाथि अन्तरक्रियात्मक छलफल कार्यक्रम आयोजना गरेका छन्।
अर्थशास्त्र विषयका प्राध्यापक दुर्गा थापाको मार्गदर्शनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले बजेटका सकारात्मक पक्ष, सुधार गर्नुपर्ने क्षेत्र तथा कार्यान्वयनका चुनौतीबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई राष्ट्रिय बजेट, आर्थिक नीति, विकास योजना तथा राज्यका प्राथमिकताबारे गहिरो बुझाइ दिलाउनु रहेको आयोजकले जनाएको छ।

विद्यार्थी दावा शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख भवानीप्रसाद पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमको सञ्चालन दिया राईले गरेकी थिइन् भने स्वागत मन्तव्य खावा लामाले राखेका थिए।
कार्यक्रममा दन गुरुङले नेपालको बजेट प्रणाली, बजेटको उत्पत्ति, उद्देश्य तथा राज्य सञ्चालनमा बजेटको भूमिकाबारे विस्तृत प्रस्तुति दिएका थिए। उनले बजेट केवल आय–व्ययको विवरण मात्र नभई देशको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासको मार्गचित्र भएको उल्लेख गरे।
त्यसैगरी सागर लामाले चालु आर्थिक वर्षको बजेटको समीक्षा गर्दै अघिल्लो वर्षको बजेटसँग तुलनात्मक विश्लेषण प्रस्तुत गरेका थिए। उनले बजेटका प्राथमिकता, उपलब्धि, सीमितता तथा कार्यान्वयनका चुनौतीहरूमाथि प्रकाश पार्दै बजेटमा उल्लेख गरिएका योजनाहरू व्यवहारमा कति सफल हुन्छन् भन्ने विषय अझ महत्वपूर्ण हुने बताए।
Advertisement 2

अरुषी खड्काले बजेटमा देखिएका कमजोरीहरू औँल्याउँदै सुधारका सम्भावित क्षेत्रबारे आफ्ना सुझाव प्रस्तुत गरेकी थिइन्। उनले बजेट निर्माण प्रक्रियामा जनसहभागिता बढाउनुपर्ने, उत्पादनमुखी क्षेत्रलाई थप प्राथमिकता दिनुपर्ने तथा युवामैत्री कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने धारणा राखिन्।
कार्यक्रमका प्रमुख संयोजक गणेश घितालले बजेटका मुख्य विशेषतामाथि चर्चा गर्दै अपेक्षित विकास लक्ष्य हासिल गर्न प्रभावकारी कार्यान्वयन, पारदर्शिता र जवाफदेहितालाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। “नेपालमा राम्रो बजेट बन्ने तर कार्यान्वयन कमजोर हुने समस्या दोहोरिँदै आएको छ। त्यसैले बजेटको सफलताको मापन रकम विनियोजनले होइन, त्यसले नागरिकको जीवनमा पार्ने प्रभावले गर्नुपर्छ,” उनले भने।
प्रमुख अतिथि तथा क्याम्पस प्रमुख भवानीप्रसाद पौडेलले वर्तमान बजेटले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा मानव पुँजी विकासका क्षेत्रमा सकारात्मक संकेत दिएको उल्लेख गर्दै बजेटको वास्तविक सफलता कार्यान्वयनमा निर्भर रहने बताए।

उनले भने, “राष्ट्रको भविष्य निर्माण गर्ने शक्ति युवापुस्तासँग छ। विद्यार्थीहरू केवल पाठ्यपुस्तकमा सीमित नभई राष्ट्रिय नीति, अर्थतन्त्र र विकासका विषयमा पनि सचेत हुन आवश्यक छ। आजको यस्तो छलफलले विद्यार्थीहरूलाई जिम्मेवार नागरिक बन्न प्रेरित गर्छ। बजेट कति ठूलो छ भन्नेभन्दा पनि त्यसको प्रभाव जनताको जीवनमा कति पुगेको छ भन्ने कुरा महत्वपूर्ण हो।”
पौडेलले सरकारले सार्वजनिक शिक्षाको गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र मानव पुँजी विकासमा जोड दिएको सकारात्मक पक्ष भए पनि निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाहरूको योगदानलाई पनि राज्यले उचित रूपमा सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे। उनले शिक्षा क्षेत्रलाई राजनीतिक बहसभन्दा माथि उठाएर राष्ट्रिय प्राथमिकताका रूपमा हेर्नुपर्ने आवश्यकता औँल्याए।
Advertisement 3

उनको भनाइ थियो, “शिक्षामा गरिएको लगानी खर्च होइन, राष्ट्र निर्माणको दीर्घकालीन आधार हो। सक्षम, दक्ष र सिर्जनशील जनशक्ति उत्पादन नगरी समृद्ध नेपालको सपना पूरा हुन सक्दैन। त्यसैले राज्यले शिक्षा क्षेत्रमा गर्ने हरेक नीति र बजेट विनियोजन दूरगामी सोचका साथ गर्नुपर्छ।”
समापन मन्तव्यका क्रममा प्राध्यापक दुर्गा थापाले यस्ता शैक्षिक गतिविधिले विद्यार्थीहरूमा विश्लेषणात्मक सोच, समालोचनात्मक दृष्टिकोण तथा नीतिगत विषयप्रतिको बुझाइ विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विश्वविद्यालय शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम नभई समाज र राष्ट्रलाई बुझ्ने अवसर पनि भएको उल्लेख गरे।
कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूले बजेट निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा पारदर्शी मूल्याङ्कन प्रणाली आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। छलफलका क्रममा विद्यार्थीहरूले बजेटका विभिन्न पक्षमा जिज्ञासा राख्दै आफ्ना विचार प्रस्तुत गरेका थिए।
कार्यक्रमले विद्यार्थीहरूलाई राष्ट्रिय आर्थिक नीतिबारे जानकारी दिने मात्र नभई समसामयिक विषयमा तार्किक बहस गर्न, आफ्नो दृष्टिकोण निर्माण गर्न तथा जिम्मेवार नागरिकका रूपमा भूमिका निर्वाह गर्न प्रेरित गरेको सहभागीहरूले बताएका छन्। क्याम्पसले भविष्यमा पनि यस्ता शैक्षिक तथा बौद्धिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्