सगरमाथाको चुचुरोमा रिलायन्स पब्लिक स्कुलको झण्डा, पुर्व विद्यार्थी पासाङ शेर्पाले चम्काए विद्यालयको नाम
Advertisement 1

Advertisement 2
काठमाडौं । रिलायन्स पब्लिक स्कुलका विद्यार्थी छिरिङ पासाङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्दै विद्यालयको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेका छन्। SEE ब्याच २०८२ का विद्यार्थी शेर्पाले २०८३ जेठ ७ गते सगरमाथाको चुचुरोमा पुगेर रिलायन्स पब्लिक स्कुलको झण्डा फहराएका हुन्।
सगरमाथाको शिखरमा विद्यालयको झण्डा फहरिएको खबर सार्वजनिक भएसँगै विद्यालय परिवार, शिक्षक, विद्यार्थी तथा अभिभावकमाझ खुसी र गर्वको वातावरण छाएको छ। विद्यालयले यस उपलब्धिलाई केवल एक विद्यार्थीको व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण रिलायन्स परिवारको ऐतिहासिक उपलब्धिका रूपमा लिएको जनाएको छ।
विद्यालय प्रशासनका अनुसार छिरिङ पासाङ शेर्पा अध्ययनसँगै साहस, अनुशासन र दृढ आत्मविश्वासका प्रतीक विद्यार्थीका रूपमा परिचित थिए। कठिन परिस्थितिलाई सामना गर्दै विश्वकै सर्वोच्च शिखरमा पुग्नु उनका अथक प्रयास, लगनशीलता र अटल संकल्पको परिणाम भएको विद्यालयले जनाएको छ।
“हाम्रा विद्यार्थीहरू शैक्षिक क्षेत्रमा मात्र होइन, साहसिक तथा अन्तर्राष्ट्रिय स्तरका उपलब्धिमा समेत उत्कृष्टता हासिल गर्न सक्षम छन् भन्ने सन्देश छिरिङ पासाङ शेर्पाले दिनुभएको छ,” विद्यालयद्वारा जारी शुभकामना सन्देशमा उल्लेख गरिएको छ।
विद्यालयले शेर्पाको यस साहसिक यात्राले अन्य विद्यार्थीलाई पनि आफ्नो लक्ष्यप्रति प्रतिबद्ध भएर अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ। साथै, विद्यालयले उनलाई हार्दिक बधाई दिँदै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ।



प्रतिक्रिया दिनुहोस्