काठमाडौँ, १२ भदौ – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीविरुद्ध यसरी लाग्नुहोला भन्ने आफूले कल्पना नगरेको बताएका छन्।
Advertisement 1

बुधबार काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने आसन्न दोस्रो विधान महाधिवेशनका प्रतिनिधिसँगको भेटमा ओलीले वामपन्थी आन्दोलनको ऐतिहासिक संघर्ष, व्यक्तिगत स्वार्थका कारण आन्दोलनमा परेको असर, र पार्टीले अङ्गीकार गरेको नीति तथा सरकारका हालका कामबारे धारणा राखेका थिए।
Advertisement 2
तर उक्त भेटलाई लिएर केही अनलाइन र सामाजिक सञ्जालमा ओलीले ‘विद्याले छाडे सबै मिल्छ’ भन्ने जस्ता टिप्पणी गरेको भनी भ्रामक समाचार सम्प्रेषण भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ। सचिवालयले सो भेट कुनै प्रशिक्षणमूलक कार्यक्रम नभई अनौपचारिक संवाद मात्र भएको स्पष्ट पार्दै वास्तविकता विपरीत समाचार नप्रसार गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।
ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई आफूले सदैव उच्च सम्मान गर्ने गरेको उल्लेख गर्दै अहिले उहाँ पार्टी र नेतृत्वको विरोध गर्ने दिशामा लाग्नु आश्चर्यजनक भएको टिप्पणी गरेका छन्। भण्डारीले पार्टीमा औपचारिक सदस्यता नलिएर विभिन्न मिडिया र नेतासँग सक्रिय राजनीतिमा फर्कने चर्चा गर्नु पार्टीको आन्तरिक एकता र लक्ष्यका लागि सहयोगी नभएको उनको भनाइ छ।
Advertisement 3
प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले पार्टीको केन्द्रीय कमिटीले भण्डारीलाई सदस्यता नदिने निर्णय सम्मान र आन्दोलनकै हितका लागि गरिएको हो भन्दै “पार्टीमा आएर नेतृत्व लिन खोज्नु लालगेडी झैँ देखिन्छ, जसले आन्तरिक विवाद बढाउन सक्छ” भन्ने वास्तविकता प्रस्तुत गरेका थिए।
साथै, प्रधानमन्त्रीको सचिवालयले कुनै भ्रम सिर्जना गर्ने समाचार सम्प्रेषण नगरी यथार्थका आधारमा सूचना दिन सबैलाई अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्