२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

केही रोपनीमा लाखौँ: आधुनिक कृषि र युवाशक्ति

९ महिना अगाडि

गाउँमै रोजगारी, कृषि उद्यमशिलताबाट समृद्धि सम्भव

Advertisement 1

(राजेन्द्र पराजुली नेकपा एमाले गण्डकी प्रदेश सदस्य)

काठमाडौ: नेपालका ग्रामीण भेगहरू अझै परम्परागत खेतीमा निर्भर छन्। तर खेतबारी बाँझो छन्, युवा विदेश पलायन भइरहेका छन्, र गाउँमा वृद्धबृद्धा मात्रै बाँकी छन्। शिक्षाको स्तर न्यून, स्वास्थ्य सुविधा कमजोर र पूर्वाधार अभावले गर्दा गाउँमै बस्न वातावरण कठिन छ। यही कारणले धेरै युवाले विदेश रोजगारी रोजेका छन्।

तर समाधान छ—कृषि उद्यमशिलता। नेपाल कृषिप्रधान देश हो र ग्रामीण भूमिमा उत्पादनको अपार सम्भावना छ। आधुनिक, व्यवसायिक र नाफामूलक कृषि अपनाउँदा गाउँमै लाखौं रोजगारी सिर्जना गर्न सकिन्छ।

Advertisement 3

फलफूल र नगदेबाली—जस्तै कफी, अलैंची, एभोकाडो, कागती—ले ठूलो आम्दानी दिन सक्छ। तरकारीखेतीमा ग्रीनहाउस, टनेल र ड्रिप सिँचाइ प्रयोग गरेर वर्षभर उत्पादन सम्भव छ। दुग्ध, मासु, अण्डा र माछापालनले पनि युवालाई आकर्षित गर्न सक्छ। भण्डारण र प्रशोधन उद्योग स्थापना गरेमा उत्पादनको मूल्य बढ्छ र किसान लाभान्वित हुन्छन्।

सफल उदाहरणहरू छन्। इलामका युवा चिया खेतीमा, चितवनका युवा दुग्ध फार्ममा, काभ्रेका युवा सहकारीमार्फत तरकारीखेतीमा उत्कृष्ट आय गर्दै छन्। गोर्खाका राजेन्द्र पन्तको कामधेनु फार्मले ३ सयभन्दा बढी गाई पालन गर्दै कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गरेको छ।

नीतिगत समन्वय अपरिहार्य छ। सस्तो ऋण, उत्पादन बीमा, आधुनिक प्रविधि तालिम, बजार सुनिश्चितता, सहकारी र प्रदेश–संघीय समन्वयको माध्यमले मात्र कृषि उद्यमशिलता दीर्घकालीन बन्न सक्छ। ‘गाउँ फर्कौं, कृषि गरौं’ जस्ता अभियानले युवालाई आकर्षित गर्नेछन्।

कृषि अब केवल परम्परागत पेशा होइन, यो आधुनिक, उद्यमशिल र आत्मनिर्भर व्यवसाय बन्न सक्छ। उचित नीति, पूर्वाधार र सहजीकरण भए गाउँमै युवाले मासिक लाखौँ कमाउन सक्छन् र देशमै लाखौँ रोजगारी सिर्जना हुन्छ। यसैले नेपालको भविष्य कृषि उद्यमशिलतामा टेकेको छ।

धेरै पढिएको

सम्बन्धित समाचार