२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

सिन्धुपाल्चोकमा एउटै ढुङ्गाबाट भगवान् बुद्धको विशाल प्रतिमा

१० महिना अगाडि

काठमाडौँ — सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा भगवान् गौतम बुद्धको विशाल प्रतिमा निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ। गाउँपालिका–७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुङ्गा) मा निर्माण भइरहेको यो प्रतिमा ८४ फिट अग्लो हुने जनाइएको छ।

Advertisement 1

गाउँपालिका अध्यक्ष टाशी लामाका अनुसार चार वर्षअघि पालिकाको ‘गौरव योजना’का रूपमा सुरु गरिएको परियोजना धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। “सामान्यतया प्रतिमा निर्माण ढुङ्गाका टुक्रा जोडेर गरिन्छ, तर यसलाई एउटै विशाल ढुङ्गाबाट तयार पारिँदै छ,” अध्यक्ष लामाले भने। उनका अनुसार हालसम्म बुद्धको शिरको निर्माण कार्य सम्पन्न भइसकेको छ।

करीब रु. तीन करोड लागत अनुमान गरिएको यस परियोजनालाई आगामी वर्षसम्म पूरा गर्ने लक्ष्य राखिएको छ। गाउँपालिकाले बागमती प्रदेशसँगको समन्वय र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक सहयोगमा काम अघि बढाइरहेको छ।

Advertisement 3

अध्यक्ष लामाले प्रतिमाको निर्माण सम्पन्न भएपछि यसले पाँचपोखरी थाङ्पाललाई ‘आध्यात्मिक भूमि’का रूपमा चिनाउने मात्र नभई धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक समृद्धिमा पनि ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, प्रतिमा निर्माणमा आर्थिक सहयोग गर्ने व्यक्तिहरूको नाम शिलामा अंकित गरिने समेत उनले जानकारी दिए।

यो महत्वाकांक्षी परियोजना पूरा भएपछि पाँचपोखरी थाङ्पाललाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा समेत चिनाउने अपेक्षा गरिएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार