२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

रिलायन्स आरपीमुनको दशौँ संस्करण काठमाडौँमा सुरु, २२ संस्थाका विद्यार्थी सहभागी

१० महिना अगाडि

तिन दिनसम्म चल्ने आरपीमुनको दशौँ संस्करण सुरु

Advertisement 1

काठमाडौँ — रिलायन्स एजुकेसन नेटवर्कद्वारा आयोजित ‘रिलायन्स पब्लिक मोडल युनाइटेड नेशन्स’ (आरपीमुन) को १० औँ संस्करण बिहीबार काठमाडौँस्थित रिलायन्स पब्लिक स्कुलको प्राङ्गणमा सुरु भएको छ। तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय शैलीको शैक्षिक सम्मेलनको उद्घाटन विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा गरियो।

विद्यालय तथा विश्वविद्यालय स्तरका विद्यार्थीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ज्वलन्त समस्याहरूको पहिचान गरी समाधानका उपाय खोज्न प्रेरित गर्ने उद्देश्यले सन् २०१६ देखि निरन्तर सञ्चालन हुँदै आएको आरपीमुन, नेपालकै नमुना संयुक्त राष्ट्रसङ्घ सम्मेलनका रूपमा परिचित छ।

कार्यक्रम रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रबिन्द्र जङ्ग थापाको सभापतित्वमा सम्पन्न भएको थियो भने संयुक्त राष्ट्रसङ्घका पूर्व आवासीय समन्वयक तथा आवासीय प्रतिनिधि विश्व वीर पराजुली प्रमुख अतिथि रहेका थिए। सो अवसरमा रिलायन्सका सञ्चालक, प्रशासक, शिक्षक–कर्मचारी, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, सञ्चारकर्मी तथा देशभरका २२ शैक्षिक संस्थाबाट आएका २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

Advertisement 3

रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछानेले स्वागत मन्तव्य राख्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि संस्थाले गर्दै आएको प्रयासमा आरपीमुन एउटा महत्त्वपूर्ण पहल भएको बताए। उनले विश्व परिवेश बुझाउन, चुनौती पहिचान गर्न र वार्तामार्फत समाधान खोज्ने क्षमतामा यो कार्यक्रम सहायक हुने विश्वास व्यक्त गरे।

दशौँ संस्करणका सम्मेलन निर्देशक दिलीप नेपालले यसपटक ८ वटा विभिन्न संयुक्त राष्ट्रसङ्घका कमिटीहरू गठन गरी विद्यार्थीलाई छलफलमा सहभागी गराइने जानकारी दिए। उनले सन् २०१६ मा सुरु भएको यो सम्मेलन कोरोना महामारीको चुनौतीपूर्ण समयमै पनि निरन्तर सञ्चालन गरिएको स्मरण गर्दै यस किसिमका क्रियाकलापले शान्त, समृद्ध र बस्न योग्य विश्व निर्माणमा योगदान पुर्‍याउने धारणा राखे।

प्रमुख अतिथि पराजुलीले संयुक्त राष्ट्रसङ्घमा ४० वर्षे अनुभव सुनाउँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई युएनको कार्यपद्धति बुझाउन मद्दत गर्ने बताए। उनले नेपाल हाल एक महत्वपूर्ण युएन कमिटीको अध्यक्ष रहेको कुरा गर्वको विषय भएको उल्लेख गर्दै, विद्यार्थीहरूले केवल समाधानको पक्ष मात्र होइन, युएनका कामले मानव जीवनमा पारेको प्रभावबारे पनि अध्ययन–चर्चा गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा विभिन्न युएन समितिका प्रतिनिधिहरूलाई पिन वितरण गरिएको थियो। सभापति थापाले आरपीमुनलाई शैक्षिक कार्यक्रम मात्र नभई विश्वका चुनौतीहरू पहिचान गरी सिर्जनात्मक समाधान खोज्ने बौद्धिक मंचका रूपमा वर्णन गर्दै, सहभागीहरूले आफ्नो कमिटीमा निकाल्ने निष्कर्ष विश्वकै लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।

समारोहको अन्त्यमा महासचिव प्राश्ना थपलियाले उद्घाटन समारोह समापन र सम्मेलनको औपचारिक सुरुवात घोषणा गरिन्।
बिहीबारदेखि सुरु भएको यो सम्मेलन श्रावण ३१ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार सहभागी विद्यार्थीहरूले विश्वका जल्दाबल्दा मुद्दामा गहिरो छलफल गर्दै व्यावहारिक समाधानका उपाय प्रस्तुत गर्नेछन्। यस्ता कार्यक्रमहरूले विद्यार्थीमा कूटनीतिक क्षमता अभिवृद्धि गर्दै विज्ञान र प्रविधिमा दक्ष, सचेत र जिम्मेवार नागरिक निर्माणमा टेवा पुर्‍याउने संस्थाको विश्वास छ।

धेरै पढिएको

सम्बन्धित समाचार