ओली–भण्डारी भेट आज च्यासलमा, भण्डारीकै आग्रहमा तय
Advertisement 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयमा भेटवार्ता हुने भएको छ। स्रोतका अनुसार दुवै नेताबीचको भेट भण्डारीकै पहल र आग्रहमा तय भएको हो।
Advertisement 2
दिउँसो ३ बजेका लागि तय गरिएको भेट प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण एक घण्टा पछि सारिएको छ। भण्डारी भने ४ बजेभन्दा अघि नै च्यासल पुग्ने कार्यक्रम छ। लामो समयपछि भण्डारी पार्टी कार्यालय पुगेकी हुन्, जहाँ उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछिन्।
भेटका लागि प्रधानमन्त्री ओलीले बालुवाटारमै आउन आग्रह गरे पनि भण्डारीले पार्टी कार्यालय च्यासलमा भेट गर्न प्रस्ताव गरेकी थिइन्। सोही प्रस्तावअनुसार प्रधानमन्त्री ओली पनि च्यासलमै भेट्न सहमत भएका हुन्।
Advertisement 3
ओलीले एमालेको केन्द्रीय कमिटी बैठकपछि मात्रै भण्डारीसँग भेट गर्ने योजना बनाएका थिए। तर, भण्डारीको जोडदार आग्रहपछि उनले सचिवालय र पोलिटब्युरो बैठक सकिनुअघि नै भेट गर्न सहमति जनाएका हुन्। एमाले नेताहरूले पनि केन्द्रीय कमिटी बैठकपछि मात्रै भण्डारीसँग भेट हुने संकेत गरेका थिए।
भेटवार्तामा पछिल्लो समय पार्टीभित्र उठेका विवाद, नेतृत्वको भूमिकासम्बन्धी बहस र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। एमालेभित्रै उमेर हद, कार्यकाल सीमा लगायतका विषयमा उठेको बहस र पूर्वराष्ट्रपति भण्डारीको सक्रियता पछिल्लो समय निकै चर्चामा छ।
आजको भेटपछि ओली–भण्डारी सम्बन्ध, पार्टीभित्रको शक्ति सन्तुलन र भावी राजनीतिक समीकरणबारे नयाँ संकेत प्राप्त हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्