२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

१४ वर्षीया डोल्मु तामाङको जीवन संकटमा: दुबै मृगौला फेल, जीवनरक्षा अभियानमा जुटे समाजसेवी आङदोर्जे शेर्पा

११ महिना अगाडि

म बाँच्न चाहन्छु, दाइ… मलाई पनि जीउन दिनु न!” — १४ वर्षीया डोल्मु तामाङको कारुणिक कथा, बुबाको आँशु, समाजसेवीको साथ र जीवनको अपिल

Advertisement 1

काठमाडौं, जोरपाटी —
भर्खरै १४ वर्ष टेकेकी डोल्मु तामाङको जीवन कुनै बालसाहित्यको रमाइलो पात्रजस्तो हुन्थ्यो भने कति मिठो हुन्थ्यो होला। जहाँ ऊ साथीहरूसँग रमाउँदै, स्कुलको पाठशालामा गुनगुनाउँदै, आमा-बाबाको माया पाएर हुर्किंदै हुन्थिन्। तर, यथार्थ त्यस्तो छैन। उनका निम्ति जीवन भन्ने कुरा अहिले एउटा खाट, एउटा सुई, नियमित डायलसिस र आँशु बनेको छ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६, सोताङ गाउँमा जन्मेकी डोल्मु अहिले काठमाडौंको जोरपाटीस्थित एउटा भाडाको साँघुरो कोठामा पल्टिएकी छन्—मुटुमा सपनाहरू बोकेर र शरीरमा मृगौलाको चर्को पीडा सहेर।

Advertisement 3

सानैमा आमा गुमाइन्, अहिले जीवन गुम्ने डर

जब डोल्मु जम्मा तीन वर्षकी थिइन्, उनकी आमा सुनिता तामाङले घर छोडेर हिँडिन्। त्यसपछि बुबा बिर्ग बहादुर तामाङले आमा बनेर, बुबा बनेर, साहारा बनेर डोल्मुलाई हुर्काए। एउटा मात्रै छोरीको स्नेहले संसारको सबै गार्हो सहेर अघि बढे।

तर आज, त्यो एउटै छोरी मृत्युको मुखमा पुगेकी छे। “म जे काम भए पनि गर्छु, तर छोरी गुमाउने कुरा सहन सक्दिन,” बुबा बिर्गको गला भरिन्छ।

डोल्मुको शरीर बोल्न नसके पनि आत्मा रोइरहेको छ

“म बाँच्न चाहन्छु, दाइ… म अरु बच्चाजस्तै स्कुल जान चाहन्छु। म साथीहरूसँग रमाउन चाहन्छु। मेरो बुबाले मलाई एउटै हातले हुर्काउनुभयो, म उहाँलाई छोड्न चाहन्न। म त मर्न चाहन्न… कृपया मलाई बचाइदिनु न।”

डोल्मुको यी शब्दहरूमा कुनै भाषण छैन, तर जीवनको अन्तिम धपेडी छ। उनी आफैंलाई थामेर, आँशु पुछेर बोल्छिन्—तर त्यो आवाज शून्यताभित्र हराउँदै जान थालेको छ।

हप्तामा दुईपल्ट डायलसिस, उपचारको खर्चले थिचिएको जीवन

डोल्मुको दुबै मृगौला फेल भइसकेको छ। हप्तामा दुई पटक डायलसिस गर्नुपर्छ। एउटा डायलसिसमै करिब १० हजार लाग्छ, हप्ताको औसत १५ हजार। त्यसमा औषधि, भाडा, खानपान — दैनिक हजारौं खर्च। डोल्मुका बुबा कुनै ठूलो जागिरे होइनन्, मजदुरी गरेर छोरी हुर्काउने संघर्षरत बुबा हुन्।

अबको अवस्थामा डोल्मुलाई बचाउन ठूलो आर्थिक सहयोग आवश्यक छ—तर त्यो उनको परिवारसँग छैन।

अमेरिका बस्ने मनकारी नेपालीको साथ, शेर्पाको समर्पण

डोल्मुको पीडाले अमेरिका बस्ने केही नेपालीको हृदय छोयो। उनीहरूले केही रकम सहयोग संकलन गरी नेपाल पठाए।

उक्त रकमलाई सहजीकरण गर्दै सिन्धुपाल्चोककै बार्हबिसे–६ का समाजसेवी एबंम नेपाल शेर्पा संघका कोषाध्यक्ष तथा  नेपाल हिमालय सिमापार वाणिज्य संघका सचीव आङदोर्जे शेर्पा, हाल काठमाडौं बस्दै आएका, आफैं डोल्मुको घर पुगे। उनले अमेरिका पठाएको सहयोगमा आफैंले केही थपेर डोल्मुको हातमै रकम हस्तान्तरण गरे।

डोल्मुको अवस्था देखेर भावुक बनेका शेर्पाले भने:
“डोल्मु हाम्रो छोरीजस्ती हुन्। ऊ बाँच्न खोजिरहेकी छे। ऊ हरेक दिन मरेर पनि फेरि बाँच्ने कोसिस गरिरहेकी छे। यस अवस्थामा हामी सबै चुप लागेर बस्न सक्दैनौं। म व्यक्तिगत रूपमा निरन्तर साथ दिनेछु। म सबैलाई डोल्मुको लागि एक पटक सोच्न अनुरोध गर्छु। सानो सहयोगले एउटा जीवन फर्किन सक्छ।”

बुबा बिर्ग बहादुर तामाङको करुण आह्वान

“म अब केही भन्न सक्दिन। आँखा अगाडि छोरी मर्न लागेकी छे। म रातभर निन्द्रा लाग्दैन। पैसा छैन, तर बचाउने मन छ। म सबैसँग बिन्ती गर्छु—मेरो डोल्मुलाई बचाइदिनुहोस्। छोरीलाई उपचार गर्न सक्ने बनाइदिनुहोस्।”

डोल्मुको पनि सबै नेपाली दाजुभाइ–दिदीबहिनीलाई अपिल

“मलाई माया गर्नुहुन्छ भने, मसँग केही समय बाँडिदिनुहोस्। म मर्न चाहन्न, मलाई पनि पढ्न मन लाग्छ, रमाउन मन लाग्छ। म त तपाईंहरूजस्तै सामान्य जीवन बाँच्न चाहन्छु। म बाँच्न पाउँछु कि छैन? तपाईंहरूको सहयोग बिना सम्भव छैन… मलाई बचाइदिनुहोस्, प्लीज।”

अब हामीले के गर्न सक्छौं?

सकारात्मक सोच्ने समाज, मानवता बोकेका हामी सबैका लागि डोल्मुको जीवन एउटा परीक्षा हो। आज उसले अरु केही मागेकी छैन—उसले भनेकी छे: “जीवन चाहिएको छ, बाँच्न पाउँ”।

सहयोग गर्न चाहनुहुन्छ भने, समाजसेवी आङदोर्जे शेर्पा सँग प्रत्यक्ष सम्पर्क गरेर आर्थिक वा अन्य किसिमले सहयोग गर्न सक्नुहुन्छ।

 “जिन्दगी सबैका लागि बराबर होस्। सानो हातले किताब समाउने अवसर गुम्न नदिऔं।”

 

धेरै पढिएको

सम्बन्धित समाचार