काठमाडौं, असार ६ – इजरायल र इरानबीचको युद्धबाट उत्पन्न पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै ती मुलुकमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र सम्भावित उद्धार कार्यका सन्दर्भमा आज परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ।
Advertisement 1

बैठकमा गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा उच्च अधिकारीहरू सहभागी थिए। बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय शरदसिंह भण्डारीको पनि उपस्थिति रहेको थियो।
Advertisement 2
बैठकले युद्ध प्रारम्भदेखि नै नेपाल सरकारले सम्बन्धित क्षेत्रको अवस्थालाई गम्भीर रूपमा नियालीरहेको स्पष्ट गर्दै, ती देशहरूमा रहेका तथा स्वदेश फर्कन इच्छुक नेपालीहरूका लागि विशेष व्यवस्था गर्ने निर्णय गरेको छ।
परराष्ट्र मन्त्रालयले स्थापना गरेको विशेष पोर्टलमार्फत स्वदेश फर्कन चाहने नेपालीहरूले आफ्नो विवरण दर्ता गर्न सक्नेछन्। त्यहाँ दर्ता हुने विवरणका आधारमा उद्धार प्रक्रिया अघि बढाइनेछ।
Advertisement 3
यसका लागि परराष्ट्र मन्त्रालयमै चौबीसै घन्टा सक्रिय रहने विशेष ‘कोअर्डिनेसन युनिट’ गठन गरिएको छ, जसमा सम्बन्धित तीन मन्त्रालयका प्रतिनिधिहरू रहनेछन्। उक्त युनिटले स्वदेश फर्कने इच्छा राख्ने नेपालीहरूलाई आवश्यक समन्वय, उद्धार तथा सहायता प्रदान गर्नेछ।
बैठकमा सहभागी सचिवहरूबीच आपसी समन्वय, विमान र भिसा व्यवस्थापन, सूचना संप्रेषण र उद्धार प्रक्रिया सहज बनाउने उपायबारे विस्तृत छलफल भएको थियो। मन्त्री भण्डारीले युद्धग्रस्त क्षेत्रका नेपालीहरूको सुरक्षालाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको र यसका लागि कुनै कसर बाँकी नराखिने बताएका थिए।
सरकारले नेपाली जनतालाई संयमित रहन र आधिकारिक सूचनामात्रै विश्वास गर्न आग्रह गर्दै विदेशमा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा रहन र आवश्यक परेमा नेपाल फर्कन पहल गर्न आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्