२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

नागढुङ्गा थप्पड घटनापछि प्रहरी संगठनद्वारा तत्काल कारबाही

१ वर्ष अगाडि

काठमाडौंको नागढुङ्गामा सार्वजनिक रूपमा ट्राफिक प्रहरी निरीक्षक (इन्सपेक्टर) र जनपद प्रहरीबीच भएको विवादको विषयमा प्रहरीले कडा कदम चालेको छ। ट्राफिक प्रहरी निरीक्षक जितेन्द्र साहद्वारा जनपद प्रहरीका सहायक हवल्दार मदन खड्कामाथि थप्पड प्रहार गरेको भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा व्यापक रूपमा सार्वजनिक भएपछि दुवैजनाको हालको जिम्मेवारी फिर्ता लिइएको छ।

Advertisement 1

उक्त घटनाप्रति चासो बढेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले आधिकारिक धारणा सार्वजनिक गरेको छ। कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “घटनामा संलग्न देखिएका प्रहरी कर्मचारीहरूलाई तत्काल प्रभावबाट हालको जिम्मेवारीबाट हटाइएको छ र यस विषयमा आवश्यक छानबिन प्रक्रिया सुरु गरिएको छ।”

प्रवक्ता खनालका अनुसार प्रहरी संगठनभित्र अनुशासन र मर्यादाको पालन अनिवार्य मानिने भएकाले सार्वजनिक स्थानमा देखिएको यस्तो प्रकारको व्यवहार स्वीकार्य हुन सक्दैन। उनले थप भने, “प्रहरी प्रशासनले यस्ता घटनालाई गम्भीर रूपमा लिएको छ। छानबिनबाट दोषी देखिएमा आन्तरिक नियमअनुसार कारबाही हुनेछ।”

प्रहरी संगठनको आन्तरिक छानबिन समिति घटनाबारे विस्तृत अध्ययन र प्रतिवेदन तयार पार्ने क्रममा रहेको बताइएको छ। यस घटनाले प्रहरी संगठनको छविमा प्रश्न उठाएको भन्दै विभिन्न पक्षले तत्काल निष्पक्ष अनुसन्धान र कारबाहीको माग समेत गरेका छन्।

धेरै पढिएको

सम्बन्धित समाचार