२०८३ जेष्ठ २० बुधबार
नेपाली समय

घोकन्ते शिक्षाभन्दा व्यवहारिक अभ्यासमा जोड : इस्ट पोइन्ट एकेडेमीमा लोकतान्त्रिक निर्वाचन सम्पन्न

५ दिन अगाडि

लोकतान्त्रिक अभ्यास सिकाउँदै इस्ट पोइन्ट एकेडेमी : विद्यालयमै सम्पन्न भयो वास्तविक निर्वाचनको अनुभव

Advertisement 1


काठमाडौँ । हेलम्बु गाउँपालिका–४ मा रहेको इस्ट पोइन्ट एकेडेमीले विद्यार्थीहरूमा लोकतान्त्रिक संस्कार, नेतृत्व क्षमता तथा जिम्मेवारी बोध विकास गर्ने उद्देश्यले विद्यालयस्तरीय अभ्यासात्मक निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रमले विद्यालय परिसरलाई वास्तविक निर्वाचनस्थलजस्तै बनाएको थियो।


विद्यालयमा सम्पन्न निर्वाचन कार्यक्रम झट्ट हेर्दा स्थानीय तह वा संसदीय निर्वाचनजस्तै देखिन्थ्यो। उम्मेदवारी दर्ता, प्रचारप्रसार, मतदान, मतगणना तथा नतिजा घोषणा लगायत वास्तविक निर्वाचनमा अपनाइने सम्पूर्ण प्रक्रिया विद्यालयले अभ्यासात्मक रूपमा सञ्चालन गरेको थियो। कार्यक्रममा ५७५ जना विद्यार्थी मतदाताको उत्साहपूर्ण सहभागिता रहेको विद्यालयले जनाएको छ।
विद्यालयका विभिन्न नेतृत्वदायी पदका लागि विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो।

निर्वाचनमार्फत सर्वाधिक लोकप्रिय मतसहित स्कुल क्याप्टेनमा विवश खतिवडा निर्वाचित भएका छन् भने विद्या पण्डित स्कुल सहायक क्याप्टेन चयन भएकी छन्। त्यसैगरी रेड हाउस क्याप्टेनमा अनुष्का लामिछाने, ब्लु हाउस क्याप्टेनमा अदिति तामाङ, एल्लो हाउस क्याप्टेनमा नदिम नगरकोटी तथा गृन हाउस क्याप्टेनमा अभिषेक तामाङ निर्वाचित भएका छन्। सहायक क्याप्टेनहरूमा क्रमशः सुशन जोती, अभय श्रेष्ठ, मृदुला भारती र सोममाया तामाङ चयन भएका छन्।

Advertisement 3


निर्वाचन कार्यक्रममा कतिपय विद्यार्थीहरू मतदाता शिक्षा अभियानमा सक्रिय देखिएका थिए भने केहीले मतदान अधिकृत, सुरक्षाकर्मी तथा मतगणना टोलीको भूमिका निर्वाह गरेका थिए। यसले विद्यार्थीहरूलाई केवल पाठ्यपुस्तकमा सीमित नभई प्रत्यक्ष अभ्यासमार्फत लोकतान्त्रिक प्रक्रियाको अनुभव दिलाएको विद्यालयले जनाएको छ।


विद्यालय प्रशासनका अनुसार विद्यार्थी केन्द्रित प्रयोगात्मक शिक्षण प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिँदै आएको हो। विद्यालयले लोकतान्त्रिक अभ्यासमार्फत नेतृत्व विकास, अनुशासन, सहकार्य, निर्णय क्षमता तथा जिम्मेवारी बोधजस्ता गुण विद्यार्थीहरूमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।


कार्यक्रमका अवसरमा विद्यालयका प्रिन्सिपल दामोदर भारतीले विद्यालय केवल शैक्षिक संस्था मात्र नभई जीवन उपयोगी सीप सिकाउने थलो भएको बताए। उनले विद्यार्थीहरूलाई व्यवहारिक अभ्यासमार्फत जिम्मेवार नेतृत्व र सचेत नागरिक बन्न प्रेरित गर्नु विद्यालयको प्रमुख उद्देश्य रहेको उल्लेख गरे।
“विद्यार्थीहरूले निर्वाचन प्रक्रिया प्रत्यक्ष रूपमा अनुभव गर्नु आफैंमा ठूलो सिकाइ हो,” प्रिन्सिपल भारतीले भने, “भविष्यका सक्षम र जिम्मेवार नागरिक निर्माणका लागि यस्ता लोकतान्त्रिक अभ्यास अत्यन्त आवश्यक छन्।”


विद्यालयका शिक्षकहरूका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूको सिकाइलाई अझ प्रभावकारी र दीर्घकालीन बनाउने विश्वास गरिएको छ। घोकन्ते शिक्षाभन्दा व्यवहारिक तथा सहभागितामूलक शिक्षालाई प्राथमिकता दिँदै आएको इस्ट पोइन्ट एकेडेमीले आगामी दिनमा पनि यस्ता सिर्जनशील कार्यक्रमलाई निरन्तरता दिने जनाएको विद्यालयका शिक्षिका मिठु गिरीको नेतृत्वमा पाँच जना शिक्षिकाहरुको सहभागितामा बनाइएको इष्टपोइन्ट निर्वाचन आयोग मार्फत आधा आकास ढाक्ने महिलाहरुको प्रतिनिधित्व गर्दै यसपटक अध्यापनरत शिक्षिकाहरुको नेतृत्वमा विद्यालयले सञ्चालन गरेको यस अभ्यासात्मक निर्वाचन कार्यक्रमले विद्यार्थीहरूमा लोकतन्त्रप्रतिको विश्वास अभिवृद्धि गर्नुका साथै भविष्यमा जिम्मेवार, सक्षम र सचेत नागरिक बन्न आवश्यक ज्ञान, अनुभव तथा आत्मविश्वास प्रदान गरेको विद्यालयले जनाएको छ।

धेरै पढिएको

सम्बन्धित समाचार