११६ विद्यार्थी सम्मानित : मनकामना सेकेन्डरी स्कुलद्वारा भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
Advertisement 1

काठमाडौं । मनकामना सेकेन्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) ब्याच २०८२ का ११६ जना विद्यार्थीहरूलाई सम्मान तथा बिदाइ गरेको छ । जया मल्टिपल कलेजमा आयोजित कार्यक्रम उत्साहपूर्ण तथा भावुक वातावरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक रामचन्द्र देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जया मल्टिपल कलेजका प्रधानाध्यापक भवानीप्रसाद पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने विद्यालयका प्रमुख कार्यकारी अधिकृत जनरञ्जन देवकोटा विशेष अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । विशेषगरी ४ जीपीए ल्याउन सफल एक विद्यार्थीलाई विद्यालयले नगद १० हजार रुपैयाँसहित विशेष सम्मान प्रदान गरेको थियो । साथै अन्य उत्कृष्ट विद्यार्थीहरूलाई समेत प्रशंसापत्र तथा मायाको चिनो वितरण गरिएको थियो ।
Advertisement 2

प्रमुख अतिथि भवानीप्रसाद पौडेलले विद्यार्थीहरूको सफलता केवल अंकमा सीमित नभई उनीहरूको व्यवहार, अनुशासन र भविष्य निर्माणसँग जोडिएको बताए । उनले गुणस्तरीय शिक्षा, मेहनत र सही मार्गदर्शनले विद्यार्थीलाई जीवनमा सफल बनाउने उल्लेख गर्दै उच्च शिक्षाका लागि विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरे ।
विद्यालयका प्रमुख कार्यकारी अधिकृत जनरञ्जन देवकोटाले मनकामना सेकेन्डरी स्कुलले विद्यार्थीहरूको शैक्षिक विकाससँगै नेतृत्व क्षमता, नैतिक शिक्षा तथा व्यवहारिक सिकाइलाई विशेष प्राथमिकतामा राख्दै आएको बताए । उनले आगामी दिनमा पनि अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा विद्यालय प्रतिबद्ध रहने उल्लेख गरे ।
सभापति तथा विद्यालयका प्रधानाध्यापक रामचन्द्र देवकोटाले विद्यालयको उत्कृष्ट नतिजा विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वासको प्रतिफल भएको बताए । उनले अनुशासन, संस्कार तथा व्यवहारिक शिक्षामार्फत विद्यार्थीहरूलाई सक्षम नागरिक बनाउने लक्ष्यसहित विद्यालय अघि बढिरहेको जानकारी दिए ।
कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य, सांगीतिक प्रस्तुति, अनुभव आदान–प्रदान तथा भावुक बिदाइ गीत प्रस्तुत गरेका थिए । साथै शिक्षक सम्मान, विद्यार्थी सम्मान, शुभकामना आदान–प्रदान तथा मायाको चिनो वितरणलगायत विविध कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्